समाचार

सभामुख महराद्वारा तत्कालीन जनमुक्ति सेनाको ब्यारेकको अवलोकन

दाङ । सभामुख कृष्णबहादुर महराले आज तुलसीपुर उपमहानगरपालिका–१९ मा पर्ने तत्कालीन जनमुक्ति सेनाको ब्यारेकको स्थलगत निरीक्षण तथा अवलोकन गरेका छन् ।

सो अवसरमा सभामुख महराले देशमा ठूलो परिवर्तन गर्न सङ्क्राम ब्यारेकले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । उनले तत्कालीन जनयुद्धको सम्झना गर्दै भने, “अब यस ऐतिहासिक ब्यारेक स्थलको विकास हुनु जरुरी रहेको छ ।” सभामुखले स्थानीय, प्रदेश र केन्द्र सरकारबाट बजेटको व्यवस्थापन गर्न आफूले पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले ऐतिहासिक जनयुद्धको सम्झना र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यस ब्यारेकलाई युद्ध सङ्ग्रहालय बनाउने तयारी गरेको सभामुखलाई जानकारी गराएका थिए । त्यस अवसरमा स्थानीय सङ्क्रामवासीले सडक, बिजुली टेलिफोन र खानेपानीको समस्या भोग्नु परेको भन्दै व्यवस्थापन गर्न माग गरेका थिए ।