खेलकुद

यू–१९ एसिया कप छनोट क्रिकेटमा चीनलाई १० विकेटले पराजित गर्दै नेपाल सेमिफाइनलमा !

काठमाडौँ । एसीसी यू–१९ एसिया कप छनोट क्रिकेटमा नेपालले चीनलाई १० विकेटले पराजित गरेको छ । टस हारेर पहिला ब्याटिङ गरेको चीनले २३.१ ओभरमा सबै विकेट गुमाएर ५३ रन बनाएको थियो । मलेसियामा भएको खेलमा टस जितेर फिल्डिङ गरेको नेपालले चीनलाई २३.१ ओभरमा ५३ रन बनाउँदा अल आउट गरेको थियो ।

जवाफी ब्याटिङमा आएको नेपालका लागि पवन सर्राफले २१ बलमा ४६ रन साथै रित गौतमले १० बलमा १० रन बनाउँदै जित दिलाएका हुन् । आक्रामक ब्याटिङ गरेका पवनले ६ चौका र ३ छक्का हाने ।

कसिलो बलिङ गर्ने क्रममा नेपालका सागर ढकालले ६ विकेट लिए । ९ ओभर १ बल गरेका उनले १९ रन दिएर ६ विकेट लिएका हुन् । यस्तै तिलक राज भण्डारीले ३ र कमल सिंह ऐरीले १ विकेट लिए ।

बुधबार पनि पराजित भएको चीन दुवै खेल गुमाउँदै प्रतियोगिताबाट बाहिरिएको छ । यो समूहबाट नेपाल र सिंगापुर सेमिफाइनलमा पुगेका छन् । सेमिफाइनलमा समूह विजेता र उप विजेताको टुंगो नेपाल र सिंगापुरबीचको खेलको नतिजाले तय हुने छ ।