कर्णाली प्रदेश

विद्यार्थीलाई राष्ट्रिय सेवा तालीम

जाजरकोट । राष्ट्रका लागि सक्षम, अनुशासित, नैतिकवान र सिर्जनशील नागरिक उत्पादन गर्ने उदेश्यका साथ नेपाली सेनाले माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सय दिने विशेष प्रशिक्षण शुरु गरेको छ ।

‘राष्ट्रिय सेवा दल तालीम’ नाम दिइएको सो प्रशिक्षणमा यहाँका त्रिभुवन माध्यमिक विद्यालय खलङ्गा र शिव माध्यमिक विद्यालय कालेगाउँका ७२ विद्यार्थी सहभागी छन् ।

एक सय दिनको अवधि रहेको उक्त तालीममा दुवै विद्यालयबाट ३६ छात्र र ३६ छात्राको सहभागिता रहेको नेपाली सेनाको जाजरकोटस्थित ज्वालादल गणका निमित्त गणपति सेनानी दिनेशकुमार खड्काले बताए ।

तालीमका क्रममा १०० दिनमध्ये ७९ दिन जिल्लाभित्रै र २१ दिन जिल्ला बाहिर नेपालगञ्ज लैजाने पनि सेनानी खड्काले बताए । अन्तर जिल्लाको भूगोल, संस्कृति, सामाजिक अवस्था र रहनसहनका साथै सिर्जनात्मक गतिविधिमा उनीहरूले समय बिताउने बताइएको छ । साथै उनीहरूलाई शारीरिक व्यायाम, कवाज, खेलकूदलगायत सीप सिकाइनेछ । प्रत्येक दिन दुई घण्टाका दरले गराइने प्रशिक्षण फलदायी र व्यावहारिक हुने अपेक्षा गरिएको छ ।