प्रदेश 1

गरीब परिवारलाई जस्तापाता वितरण

ओखलढुङ्गा । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाले नगर क्षेत्रका गरीब परिवारलाई जस्तापाता सहयोग गरेको छ । खरको छानो विस्थापित गर्न नगरपालिकाले ल्याएको ‘गरीबलाई टिनको छाना’ कार्यक्रमअन्तर्गत गरीबीको चपेटामा रहेका परिवारलाई जस्तापाता वितरण गरिएको हो ।

१२ वडा रहेको नगरपालिकामा प्रत्येक वडाबाट पहिलो चरणमा चार–चार गरीब परिवारको छनोट गरी जस्तापाता वितरण शुरु गरिएको नगरप्रमुख मोहनकुमार श्रेष्ठले बताउनुभयो । वडाको सिफारिशका आधारमा छनोटमा परेका परिवारलाई प्रतिघरपरिवार तीन बन्डलका दरले जस्तापाता वितरण गरिएको उहाँको भनाइ छ । नगरका सबै गरीब तथा विपन्न परिवारलाई समेटेर सहयोग उपलब्ध गराइने नगरपालिकाले जनाएको छ ।

चालू आर्थिक वर्षमा २४ बन्डल अर्थात् आठ घरपरिवारलाई वितरण गरिएको छ । नगरपालिकाले अघिल्लो वर्ष बोलपत्र प्रक्रियामार्फत रु १५ लाखको लागतमा जस्तापाता खरीद गरी वितरण गरेको थियो । आगामी वर्ष पनि कार्यक्रमले निरन्तरता पाउने भएको छ । अघिल्लो वर्ष पहिचान भएका नगरपालिकाभित्रका ४८ घर गरीब तथा अतिविपन्न परिवारलाई जस्तापाता वितरण गर्न आवश्यक बजेट विनियोजन गरिएको सिद्धिचरण नगरपालिकाका उपप्रमुख इच्छाकुमारी गुरुङले बताए ।

     नगरपालिकाका १२ वटै वडामा गरीब तथा अतिविपन्न घरपरिवारको पहिचान गरी उनीहरुलाई जस्तापाता वितरण गर्न लागिएको हो ।

नगरपालिकाको नीतिअनुसार गरीब तथा अतिविपन्न परिवारलाई रु ३० हजार बराबरको जस्तापाता वितरण गरिनेछ । यो मूल्यमा तीन बन्डल जस्ता बजारमा पाइन्छ ।