बाग्मती

काठमाडौँ फोहर व्यवस्थापनको दीर्घकालीन विकल्प छैन !

काठमाडौँ । एक सातापछि सोमबारदेखि फोहर सङ्कलन शुरु गरिए पनि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनको दीर्घकालीन विकल्प देखिएको छैन । ककनी गाउँपालिकास्थित सिसडोलमा स्थानीयवासीले विभिन्न माग राखेर समयसमयमा अवरोध सिर्जना गरिरहेका छन् भने अर्कातिर बञ्चरेडाँडामा निर्माण गरिने भनिएको ‘ल्याण्डफिल साइट’ निर्माण सम्पन्न हुन तीन वर्ष लाग्ने भनिएको छ ।

अहिले उपत्यकाका सबै स्थानबाट कुहिने र नकुहिने फोहर एकै ठाउँमा राखेर सङ्कलन भइरहेको छ । फोहरको वर्गीकरण हुन नसक्नु नै फोहर व्यवस्थापनको मुख्य समस्याका रुपमा देखिएको महानगर वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले बताए । अझै पनि यहाँको फोहर वर्गीकरण नगर्ने हो भने सिसडोल, बञ्चरेडाँडा वा अरू कुनै फोहर विसर्जनस्थल छोटो समयका लागि मात्रै हुने उहाँको भनाइ थियो । उनले भने, “हामीले बञ्चरेडाँडामा फोहर केही वर्ष फाल्छौँ फेरि यही अवस्था आइहाल्छ ।”

वर्गीकरण गरेर नकुहिने र पुनः प्रयोग नहुने फोहर मात्रै ल्याण्डफिल साइटमा पठाउँदा मात्रै फोहर व्यवस्थापनको समस्या नहुने प्रमुख श्रेष्ठको भनाइ छ । महानगरवासीले कुहिने फोहर र नकुहिने फोहर छुट्टाछुट्टै राख्नुपर्नेमा जोड दिँदै उनले थोरै भए पनि करेसाबारी भएकाले तरकारी र फलफूलका खेर गएका भागबाट आफूलाई चाहिने मल तयार गर्न सक्ने बताए ।

उपत्यकामा उत्पादन हुने फोहरको आधा फोहर कुहिने फोहर भएको बताउँदै उनले तीबाहेक पनि कागज, प्लास्टिकलगायत फोहर घरघरमै लिन आउनेलाई पठाउने र त्यसबाहेकको फोहर मात्रै फोहर सङ्कलन गर्ने गाडीमा पठाउनुपर्ने धारणा व्यक्त गरे । उनले भने, “यसले गर्दा एकातिर फोहरको मात्रा ज्यादै कम हुन्छ भने अर्कातिर कम्पोष्ट मलको उत्पादन हुन्छ ।”

भविष्यमा महानगर आफैँले प्राङ्गारिक मल उत्पादनको योजना बनाएको प्रमुख श्रेष्ठले बताए । सङ्कलित फोहर वर्गीकरण गरे कुहिनेबाट कम्पोष्ट मल बनाउने योजना बनाइएको छ । सडक छेउमा फोहर फाल्ने भाडा राखे पनि उपत्यकावासीको जथाभावी फोहर फाल्ने बानीमा सुधार नआएको उनले बताए । प्रमुख श्रेष्ठले भन्नुभयो, “यहाँका कर्मचारीले बिहानभर सफा गरेको सडक दिउँसोसम्म कागज र प्लास्टिकले भरिसक्छ ।”

काठमाडौँ मात्रै नभएर उपत्यकाका अधिकांश पालिकाले सिसडोलमा नै फोहर विसर्जन गर्दै आएका छन् । उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरमा स्थानीय तह र निजी कम्पनीले दैनिक आ–आफ्नै तरिकाले फोहर सङ्कलन तथा व्यवस्थापन गरिरहेका छन् । फोहर सङ्कलन गर्ने निजी कम्पनी अहिलेसम्म दर्ता प्रक्रियामा नआएकाले तिनलाई प्रक्रियामा ल्याउन पहल भइरहेको पनि श्रेष्ठले जानकारी दिए । निजी कम्पनीले घरघरबाट र स्थानीय तहले सडकमा थुपारिएका तथा सार्वजनिकस्थल र केही पुराना बस्तीका फोहर सङ्कलन गर्ने गरेका छन् । स्थानीय तह र निजी कम्पनी दुवैले आ–आफ्नै टिप्परमार्फत नुवाकोटस्थित सिसडोलमा व्यवस्थापन गर्दै आएका छन् ।

उपत्यकाका २१ पालिकामध्ये दुई महानगरपालिका, १६ नगरपालिका र तीन गाउँपालिका छन् । त्यसमध्ये १८ स्थानीय तहको फोहर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । उपत्यकामा फोहर सङ्कलन गर्ने ४६ निजी कम्पनी छन् । निजी कम्पनीमा सफाइ मजदूर, चालक र अन्य प्रशासनिक गरी दुई हजार ६०० कर्मचारी कार्यरत छन् ।

निजी कम्पनीले दैनिक ८० देखि १०० टिप्पर फोहर सिसडोलमा विसर्जन गर्दै आएका छन् । उनीहरुले त्यसरी विसर्जन गरेको फोहरबापत काठमाडौँ महानगरपालिकालाई प्रतिटिप्परको रु ३५० बुझाउने गरेको श्रेष्ठले जानकारी दिए ।

उपत्यकामा स्थानीय तहले आफैँ पनि फोहर सङ्कलन गर्ने गरेका छन् । काठमाडौँ महानगरपालिकाले दैनिक ३५० मेट्रिक टन फोहर आफैँ सङ्कलन गरेर सिसडोलमा व्यवस्थापन गर्दै आएको प्रमुख श्रेष्ठले जानकारी दिए । सो कार्यका लागि महानगरपालिकासँग आफ्नै २१ टिप्पर छन् । ललितपुर महानगरपालिकाले दैनिक आठ टिप्परमार्फत आफैँ दैनिक ४० देखि ५० मेट्रिक टन फोहर सङ्कलन गर्ने गरेको छ ।