राजनीति

रोजगारीका अवसर पहिचान गरेर मात्रै शिक्षामा लगानी गर्नुपर्छ- प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले नेपालको श्रमशक्तिको समुचित उपयोग हुने गरीको नीति र कार्ययोजना आवश्यक रहेको बताएका छन् ।पोखरा विश्वविद्यालयको २० औं साधारणसभालाई आज बालुवाटारमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताए हुन् ।

प्रधानमन्त्री ओलीले नेपालको श्रम शक्तिलाई कसरी सदुपयोग गर्ने भन्ने बिषयमा विश्वविद्यालयले योजना बनाउन सक्ने उल्लेख गरेका छन् । “हाम्रोमा देश विकास गर्ने जनशक्ति छ तर बाहिर गइरहेको छ । देशमा काम पाएको छैन । पायो भने सीप र क्षमता छैन ” प्रधानमन्त्री ओलीले भने “त्यसकारण हामीसँग भएको जनशक्तिलाई कस्तो प्रकारको सीप र शिक्षा दिने भन्ने योजना विश्वविद्यालयले बनाएर त्यहींबाट कार्यन्वयन सुरु गर्नुपर्दछ । ”

प्रधानमन्त्री ओलीले नेपाल विद्वान पूर्खाको देश भएको बताएका छन् ।  पौराणिक कालका ऋषीमुनीले यही भूमीबाट ज्ञान प्राप्त गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने “शाशकमा दृष्टिकोणको अभाव हुँदा नेपाल केही समय पछि परेको हो तर अब यो अवस्था लामो समय रहदैन । ”

प्रधानमन्त्री ओलीले देशको आवश्यकता र शिक्षाको तादम्यतान मिल्दा ठुलो ठुलो योग्यता हासिल गरेका मानिसहरु पनि बरोजगार बन्नु परेको बताएका छन् । “कसैले खेत बेचेर पाइलट बनेका छन् तर जहाजको छेउमा पनि जान पाउदैनन्” प्रधानमन्त्री ओलीले भने “यस्तो अवस्थामा उसको समय,स्रोत सबै खेर जान्छ । त्यसकारण रोजगारीका अवसर कहाँ छन् भनेर पहिचान गरेर मात्र शिक्षामा लगानी गर्नु पर्दछ । ”प्रधानमन्त्री ओलीले त्यस ठाउँको आवश्यकता,रोजगारीको अवसर आदि कुराको बिष्लेषण गरेर मात्र विश्वविद्यालयले नयाँ शैक्षिक संस्थाहरुलाई सम्बन्धन दिनु पर्ने बताएका छन् । “ विश्वविद्यालयले जथाभावी सम्बन्धन दिने काम बन्द गर्नुहोस ” प्रधानमन्त्री ओलीले भने ।