प्रदेश 1

आङी समूहद्धारा धुईज्योम तेसार ठोमा पूजा सम्पन्न

धरान । बौद्ध धर्मावलम्वीहरुले विशेष रुपले मानी आएको सागादावाको विशेष तिथि तथा औंशीको अवसर पारेर धुईज्योम तेसार ठोमाको एक महिने पूजा–अर्चना सम्पन्न भएको छ । लामा गुरुहरु समेत सहभागी उक्त एक महिने पूजा पेमा छ्योखोरलिङ पाठशालाका आङी समूहको आयोजनामा भएको हो ।

श्री हिमालय महायान् रिन्छेन् छ्योलिङ बुद्धिष्ट गुम्वा, धरान ८ का खेन रिन्पोछे तेन्जिन वाईवा गुरु एवम् नेपाल तामाङ घेदुङका केन्द्रीय सल्लाहकार सुजेन्द्र गोले तामाङको विशेष उपस्थितिमा पूजाको विधिवत समापन गरिएको थियो । यो पूजा सागादावाको तिथिमा वर्षमा एकपल्ट गर्ने गरिन्छ । यो पूजा समस्त प्राणी जगतको कल्याण, पापवाट मुक्ति तथा वली चढाइएका एवम् दिवंगत समस्त प्राणीको मुक्ति र पुण्य प्राप्तीका लागि गर्ने गरिन्छ ।

सोही अवसरमा बुद्ध धर्म सम्बन्धि प्रवचन दिईनुका साथै छ्योही अध्ययनका लागि सम्वोटा लिपिको तालिम समेत प्रदान गरिएको थियो । यस पूजा, प्रवचन तथा तालिमका लागि हल लगायत अन्य आवश्यक सहयोग समाजसेवी देवराज पाख्रिन तामाङले धरान १९ स्थित आफ्नै घरमा उपलब्ध गराएका थिए ।

धरानमा दुई वर्ष अघि सञ्चालनमा आएको पाठशालाका संयोजक खेन्पो तेन्पा धर्गे र काठमाण्डौं बौद्ध टुसालस्थित धुइज्योम गोन्पाका दोर्जे लोपेन पेमा ध्योडाग गुरुले ३५ जना आङीहरुलाई दुई वर्ष विशेष प्रशिक्षण दिई राधिका तामाङको अध्यक्षतामा पाठशाला अन्तर्गत आङी समूह गठन गरिएको आङी समूहका सचिव तारा बम्जनले बताइन ।

उनले अनिवार्य गर्नुपर्ने पूजा–पाठ तथा पाठशालाको व्यवस्थापन र निरन्तरताका लागि राज्यको सम्बन्धित निकायवाट आवश्यक बजेट एवम् सहयोग उपलब्ध हुनुपर्ने समेत बताईन । प्रशिक्षित आङी समूहले छ्योही अनुसार डोल्मा पूजा, दशमी पूजा, धुईज्योम तेसार ठोमा पूजा, म्हानी मोलम पूजा, साङसेरगेम पूजा तथा दैनिक पूजा–पाठ आदि राम्रो संग गर्न सक्ने र त्यसका लागि उनीहरुले वाङ प्राप्त गरिसकेको संयोजक खेन्पो तेन्पा धर्गे गुरुले बताएका छन् ।