खेलकुद

पल्स स्पोर्ट्स अवार्डको १६ औ संस्करण आजः विभिन्न १० विधाका खेलाडी र खेलकर्मीलाई पुरस्कृत गरिदै

काठमाडौं । नेपाली खेलकुदकै प्रतिष्ठित एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड आज हुदैछ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठान भवनमा विशेष कार्यक्रमको आयोजना गरेर विभिन्न १० विधाका खेलाडी र खेलकर्मीलाई पुरस्कृत गर्दैछ ।

मञ्चले यसपटक विभिन्न १० विधामा अवार्ड प्रदान गर्न लागेको छ । यस पटक बर्ष उत्कृष्ट खेलाडी पुरुष, बर्ष उत्कृष्ट खेलाडी महिला, युवा बर्ष खेलाडी, बर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, टिम अफ द इयर र इन्टरनेसनल एसियन स्पोर्ट्स जर्ना्लिस्ट अवार्ड प्रदान गरिदैछ । मञ्चले अवार्डका लागि यसअघि नै विभिन्न पाँच विधाको मनोनयन सार्वजनिक गरिसकेको छ । मञ्चले सार्वजजिक गरेको विधामा पिपल्स च्वाइस अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी, वर्ष प्रशिक्षक र युवा वर्ष खेलाडीको मनोनयन रहेका छन् ।

पिपल्स च्वाइस विधामा क्रिकेटका सन्दीप लामिछाने, ब्याटमिन्टनका प्रिन्स दाहाल, फुटबलकी सावित्रा भण्डारी, भलिबलकी रेश्मा भण्डारी र शारीरिक सुगठनका महेश्वर महर्जन मनोनयनमा रहेका छन् । एसएमएस भोटिङ, फेसबुक लाइक, आयोजक संस्थाका सदस्यको मत र राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतका आधारमा पिपल्स च्वाइस अवार्डको विजेता चयन गरिनेछ ।

अवार्ड कार्यक्रमको खेलाडी छनोट समितिले घोषणा गरेको वर्षको पुरुष खेलाडी विधाको मनोनयनमा प्याराग्लाइडिङका युकेश गुरुङ, क्रिकेटका पारस खड्का र सोमपाल कामी, गल्फका शुक्रराज राई र जुडोका इन्द्रबहादुर श्रेष्ठ रहेका छन् । त्यस्तै, वर्ष खेलाडी महिलाको मनोनयनमा फुटबलकी सावित्रा भण्डारी, भलिबलकी सरस्वती चौधरी, क्रिकेटकी सीता रानामगर, जुडोकी मनिता श्रेष्ठ प्रधान र तेक्वान्दोकी निमा गुरुङ रहेका छन् ।

यस्तै, युवामा ब्याडमिन्टनका प्रिन्स दाहाल, एथलेटिक्सका अजितकुमार यादव, क्रिकेटका ललितनारायण राजवंशी, फुटबलकी मन्जलीकुमारी योञ्जन र करातेका विजय श्रेष्ठ मनोनयनमा परेका छन् । वर्ष प्रशिक्षकका लागि प्याराग्लाइडिङका योगेश भट्टराई, क्रिकेटका जगत टमाटा, एथलेटिक्सका धनीराम चौधरी, भलिबलका ज्ञानेन्द्र विष्ट र फुटबलका हरि खड्का मनोनयन छन् । विजेता घोषणा कार्यक्रममै हुनेछ ।

बर्ष पुरुष खेलाडी, बर्ष महिला खेलाडी, वर्ष प्रशिक्षक र पिपल्स च्वाइस अवार्डको विजेताले बजाजको पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् । अन्य विधाका विजेताले जनही ५० हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । मनोनयनमा परेकालाई पनि गिफ्ट ह्याम्पर र ट्रफी प्रदान गरिनेछ । अवार्ड कार्यक्रमको एक घण्टा खेलाडी छनोट समितिको बैठकले विभिन्न विधाका विजेता खेलाडीको बिषयमा निर्णय लिनेछ ।