राजनीति

अझैपनि नेकपा र सरकारप्रति जनताको ठुलो भरोसा छ, टुट्न दिन्नौः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) र वर्तमान सरकारप्रति जनताको ठुलो भरोसा भएको बताएका छन् ।
नेकपाको संसदीय दलको बैठकलाई आज सम्बोधन गर्दैै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले जनताको भरोसा टुट्न नदिनकालागि पार्टी एकताबद्ध हुनुको विकल्प नभएको बताएका छन् । “हामीप्रति जनताको ठुलो भरोसा छ । त्यसलाई टुट्न दिनुहुदैन ” प्रधानमन्त्री ओलीले भने “त्यसका लागि हामी सबैले जो जहाँ छौं त्यसै अनुसारको जिम्मेवारी निर्वाह गर्नुपर्दछ ।”

प्रधानमन्त्री ओलीले यसै आर्थिक बर्ष भित्र पार्टी एकताका सबै काम टुंगिसक्ने बताएका छन् । “पार्टी एकता भएन भनेर अब धेरै निराश हुनु पर्दैन । असारभरीमा एकताका काम टुंगिन्छन् ” प्रधानमन्त्री ओलीले भने “आगामी आर्थिक बर्ष हाम्रालागि उत्साह र उमंगको बर्ष हुनेछ ।”
बैठकमा साँससदहरुले सरकारका काम, पार्टी एकता, बजेट बिनियोजन लगायतका बिषयमा जिज्ञासा र सुझाव राखेका थिए । बैठक आगामी शनिबार दिउसो १ बजे बस्नेगरी स्थगित भएको छ ।