खेलकुद

अन्सारीको अध्यक्षतामा कुस्ती सङ्घ पुनर्गठन

काठमाण्डौ । राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले राज महम्मद मिया अन्सारीको अध्यक्षतामा नेपाल कुस्ती सङ्घको पुनर्गठन गरेको छ । आज पत्रकार सम्मेलन गरी कुस्ती सङ्घको पुनर्गठन गरिएको अध्यक्ष अन्सारीले जानकारी दिए ।

अस्तित्वमा रहेका दुई कमिटीलाई भङ्ग गर्दै राखेपले सङ्घलाई पुनर्गठन गरेको हो । राखेपले यही असार ९ गते गरेको निर्णयबाट सङ्घ पुनर्गठन गरिएको हो । यसअघि कुस्ती सङ्घ दुई कमिटीमा रहेको थियो । नारायणदेव राणाको अध्यक्षमा रहेको सङ्घलाई राखेपको मान्यता थियो भने राजमोहन अन्सारी नेतृत्वको सङ्घलाई नेपाल ओलम्पिक कमिटीले मान्यता दिएको थियो । अन्सारीको नेतृत्वमा राखेपले अहिले कुस्ती सङ्घ पुनर्गठन गरेको हो ।

पुनर्गठित केन्द्रीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा समिम मिया अन्सारी, उपाध्यक्षत्रयमा रामलोचन ठाकुर, मनोहर रायमाझी र वसन्त भण्डारी, महासचिवमा रीता कोइराला, सचिवमा साहिल अन्सारी तथा कोषाध्यक्षमा जफ्रुल्ला मिया मंसुरी छन् । त्यस्तै सदस्यमा ललनप्रसाद यादव, जिनत अन्सारी, डा प्रमाचन्द सेन, सानु लामा, नेसार खान, जुनेद इद्रिसी, सलामत राइन र नन्दलाल यादव छन् ।

पत्रकार सम्मेलनमा राखेपका उपाध्यक्ष एवं राष्ट्रिय सङ्घ विवाद, समस्या तथा समाधान सहजीकरण समितिका संयोजक पिताम्बर तिम्सिनाले अन्य राष्ट्रिय खेल सङ्घको विवाद पनि चाँडै अन्त्य हुने बताए ।