कृषि

चिया किसानद्वारा सूर्योदय नगरपालिका घेराउ

फिक्कल । नगरपालिकासँग आपत्ति जनाउँदै चिया किसानले इलामको सूर्योदय नगरपालिका घेराउ गरेका छन् । उद्योगीले अहिलेको ‘सिजन’मा उत्पादन भएको चियापत्तीमा गुणस्तर खस्किएको र नगरपालिकाले तोकेको दरभाउमा चिया खरीद गर्न नसक्ने भन्दै चिया फिर्ता गरेपछि किसान आन्दोलनमा उत्रिएर नगरपालिका घेराउ गरेका हुन् ।

उनीहरुले आज दिउँसोबाट नाराबाजीसहित नगरपालिका घेराउ गरेका हुन् । किसान र उद्योगीको सहमतिमा चिया खरीदबिक्री गर्दै आएकोमा नगरपालिकाले चियाको मूल्य निर्धारणसम्बन्धी कार्यविधि, २०७५ लागू गरेर हरियोपत्तीको न्यूनतम मूल्यप्रति किलोग्राम रु ४० कायम गरेको थियो । उद्योगीहरुले अहिलेको सिजनमा उत्पादन भएको चियापत्तीमा गुणस्तर खस्किएकाले नगरपालिकाले तोकेको दरभाउमा चिया खरीद गर्न नसक्ने भन्दै असार १२ गतेदेखि उद्योग बन्द गरेका थिए ।

उद्योगीले चिया खरीद नगरेपछि किसानले मेची राजमार्गमा हरियो चियापत्ती पोखेर आन्दोलनमा उत्रिएका छन् । नगरपालिकामा सञ्चालित विभिन्न निजी चिया कारखानाहरुले हरियोपत्तीको गुणस्तर नपुगेको भन्दै फर्काएपछि विरोधस्वरूप गरपालिकाको गेटमै किसानले चिया पोखेका छन् । किसानले आइतबार साँझ नगरपालिका अगाडि, नयाँ चोक र फिक्कल बजारमा चिया पोखेर विरोध जनाएका थिए ।

उद्योगीको सङ्गठन सूर्योदय टि प्रोड्युर्सस एशोसिएशनमा आवद्ध ५२ चिया कारखाना एकै पटक बन्द भएपछि शनिबार नगरपालिका, किसान, उद्योगी र वाणिज्य सङ्घका प्रतिनिधिबीच उद्योग सञ्चालन गर्ने सहमति भएको थियो । समस्या समाधानका लागि तत्काल गुणस्तरका आधारमा मात्र नगरले तोकेको मूल्यमा चिया खरीद गर्ने र एक उच्चस्तरीय समिति बनाएर दीर्घकालीन रूपमा चिया क्षेत्रका समस्या समाधान गर्ने सहमति भएको थियो ।

उद्योग सञ्चालनमा आएको १२ घण्टा नबित्दै किसानको चियाको गुणस्तर नपुगेको भन्दै कारखानाले चिया फर्काएपछि किसानले आन्दोलन थालेका हुन् । नगरपालिका घेराउसहित किसानले तत्काल निर्णय सच्याउन र सजहरूपमा चिया खरीदबिक्री गर्ने वातावरण बनाउन माग राख्दै आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरूले गत शनिबार भएको सहमतिमा किसानका प्रतिनिधि भन्दै नगरपालिकाले आफैँ प्रतिनिधि बोलाएर हस्ताक्षर गर्न लगाएको भन्दै किसान आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले उक्त सहमति आफूहरुको उपस्थितिमा नभएको भन्दै स्वीकार्न नसकिने बताउँदै आएका छन् ।