खेलकुद

एसिसी इस्टर्न रिजन क्रिकेट मङ्गलबारदेखि

काठमाडौँ । मलेशियामा मङ्गलबारदेखि शुरु हुने एसिसी १९ वर्षमुनि यु–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको आफ्नो उद्घाटन खेलमा नेपाली युवा टोलीले चीनसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

विभिन्न सात राष्ट्र सहभागी उक्त प्रतियोगितामा नेपालले उपाधि जित्ने लक्ष्यसाथ बुधबार मलेशियाको किनरारा ओभल क्रिकेट मैदानमा चीनसँग खेल्दै प्रतियोगिताको शुरुआत गर्नेछ । यसअघि सन् २०१७ मा मलेशियामा नै भएको यस प्रतियोगिताको अघिल्लो संस्करणको फाइनलमा नेपालले हङकङलाई पाँच विकेटले पराजित गर्दै उपाधि जितेको थियो ।

भोलिको उद्घाटनमा दुई खेल हुनेछ जसमा आयोजक मलेशिया र थाइल्याण्ड भिड्नेछन् भने अर्को खेलमा सिङ्गापुर र चीन भिड्नेछन् । प्रतियोगितामा समूह ए मा रहेको नेपालले आफ्नो दोस्रो तथा समूह चरणको अन्तिम खेल असार २० गते सिङ्गापुरसँग खेल्नेछ । नेपालको समूहमा चीन र सिङ्गापुर सहभागी छन् ।

प्रतियोगितामा यसअघि आठ राष्ट्रले सहभागिता जनाउने भनिए तापनि प्रतियोगिता शुरु हुनु केही दिनअघिमात्रै म्यान्माले नाम फिर्ता लिएको थियो । समूह ए मा रहेको म्यान्माले नाम फिर्ता लिएसँगै उक्त समूहमा तीन टोली मात्रै सहभागी भएका छन् । नेपालले एक खेलमा मात्रै जित हासिल गरे सेमिफाइनलमा स्थान बनाउनेछ ।

त्यस्तै समूह बी मा भने चार राष्ट्र छन् जसमा आयोजक मलेशियासँगै, भुटान, हङ्कङ र थाइल्याण्ड छन् । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलका लागि स्थान बनाउने छन् । यस प्रतियोगिताबाट विजेता बन्ने टोलीले श्रीलङ्कामा आयोजना हुने यु–१९ एशिया कपमा छनोट हुनेछ ।
\