समाचार

नेपाली चियाले पाएन बजारः सडकमै पोखे किसानले हरियोपत्ती

पशुपतिनगर । आफुहरुले उत्तपादन गरेको चियाले बजार नपाए पछि किसनहरुले मेची राजमार्गमा हरियो चियापत्ती पोखेका छन । आफुहरुले विक्रि लागि लगेको करिब ५०० किलोग्राम चिया गुणस्तरीय नभएको भन्दै टि प्रोड्युर्स प्रालि पञ्चकन्याले खरिद नगरे पछि विरोधस्वरुप सूर्योदय नगरपालिकाको गेटमै किसानले चिया पोखेका हुन ।

साथै आफुहरुले उत्पादन गरेको चियाले बजार नपाएपछि आक्रोसिल बनेका किसानहरुले हिजो साँझ नगरपालिका अगाडि, नयाँ चोक, र फिक्कल बजारमा चिया पोखेर विरोध जनाएका हुन । यसअघि किसान र उद्योगीले सहमतिमा चिया खरीद बिक्री गर्दै आएकोमा नगरपालिकाले चियाको मूल्य निर्धारणसम्बन्धी कार्य्विधि २०७५ लागू गरेर हरियोपत्तीको न्यूनतम मूल्य प्रतिकिलो ग्राम रु ४० कायम गरेको थियो । उद्योगीले अहिलेको सिजनमा उत्पादन भएको चियापत्तीमा गुणस्तर खस्किएकाले नगरपालिकाले तोकेको दररेटमा चिया खरीद गर्न नसक्ने भन्दै असार १२ गतेदेखि उद्योग बन्द गरेका थिए ।

उद्योगीको सङ्गठन सूर्योदय टि प्रोड्युर्सस एशोसिएशनमा आबद्ध ५२ वटा चिया कारखाना एकै पटक बन्द भए पछि शनिबार नगरपालिका, किसान, उद्योगी र वाणिज्य सङ्घका प्रतिनिधिबीच उद्योग सञ्चालन गर्ने सहमति भएको थियो । समस्या समाधानका लागि तत्काल गुणस्तरका आधारमा मात्र नगरले तोकेको मूल्यमा चिया खरीद गर्ने र एक उच्चस्तरीय समिति बनाएर दीर्घकालीन रुपमा चिया क्षेत्रका समस्या समाधान गर्ने सहमति भएको थियो ।

उद्योग सञ्चालनमा आएको १२ घण्टा नबित्दै किसानको चियाको गुणस्तर नपुगेको भन्दै कारखानाले चिया फकाएपछि किसानले अर्को आन्दोलन थालेका हुन् ।