गण्डकी प्रदेश

यस्तो रह्यो पोखराको रोपाइँ महोत्सव

पोखरा । पर्यटकीय नगर पोखरामा रोपाइँ महोत्सव आयोजना गरिएको छ । पोखरा पर्यटन परिषद्को आयोजना एवम् नमूना कृषि गाउँ महतगौडा–दोविल्लाको सहआयोजनामा पोखरा–१७ महतगौडा बिरुवा फाँटमा १६औँं असारे रोपाइँ महोत्सव आयोजना गरिएको हो ।

बाह्य पर्यटकका साथै आन्तरिक पर्यटक र स्थानीयवासीको उपस्थितमा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले खेतको हिलो साएर महोत्सवको शुभारम्भ गरे । पोखरा महानगरपालिकाभित्रको कृषियोग्य भूमिको संरक्षणका लागि महानगर प्रतिबद्ध रहेको उनले बताए । नेपाली समाजमा काठको हलो, गोरु, हली र बाउसेसहितको टोलीले तयार गरेको दबदबे हिलोमा हातले छुपुछुपु धानको बीउ रोप्ने संस्कृतिको संरक्षण गर्दै परम्परागत कृषि प्रणालीलाई पर्यटन प्रवद्र्धनसँग जोड्नुपर्ने उहाँले आवश्यकता औँल्याए ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका निर्देशक मणि लामिछानेले बोर्डले आन्तरिक एवम् बाह्य पर्यटन प्रवद्र्धनमा जोड दिँदै आएको बताउँदै महोत्सवको माध्यमबाट भावी पुस्तालाई व्यावसायिक कृषि पेशामा लाग्न प्रेरणा प्रदान गर्ने बताए । पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले आजभन्दा सोह्र वर्षअघि देखि सञ्चालन गर्दै आएको रोपाइँ महोत्सव यतिखेर पोखराको छुट्टै स्थापित पर्यटकीय पहिचान बनेको उल्लेख गरे ।

कार्यक्रममा पोखरा–१७ का वडाध्यक्ष तीर्थ अधिकारी, पर्यटन बोर्डका पूर्वसदस्य टीकाराम सापकोटालगायतले रोपाइँ महोत्सवलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए । ‘पोखरा सबै मौसमका लागि’ नाराका साथ आयोजित महोत्सवमा चार हल गोरुले हिलो बनाउनुका साथै आमा समूहबीच रोपाइँ प्रतियोगिता, हिलोमा माछा छोप्ने, हिले दौडलगायत प्रतियोगिताको आयोजना गरिएको थियो ।