खेलकुद

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाको जित

एजेन्सी । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाले न्युजिल्याण्डलाई पराजित गरेको छ । लर्ड्समा शनिबार राति भएको खेलमा अष्ट्रेलियाले न्युजिल्याण्डलाई ८६ रनले पराजित गरेको हो । इंग्ल्याण्डको लर्ड्स क्रिकेट मैदानमा अष्ट्रेलियाले दिएको २४४ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्ड ४३ ओभर ४ बलमा अलआउट हुँदै १५७ रनमा समेटियो ।

न्युजिल्याण्डका लागि कप्तान केन विलियम्सनले सर्वा्धिक ४० रन बनाएपनि टोलीलाई हारबाट जोगाउन सकेनन् । यस्तै रोस टेलरले ३० रन जोड्दा मार्टिन गुप्टिलले २० रन बनाए । न्युजिल्याण्डलाई सस्तैमा समेट्न अष्ट्रेलियाका मिचेल स्टार्कले ५ विकेट लिए । उनले ९ ओभर ४ बलमा २६ रन खर्चेर ५ विकेट लिएका हुन् । यस्तै जासन पाउलले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ९ विकेट गुमाएर २४३ रन बनाएको थियो । अष्ट्रेलियाका लागि उस्मान ख्वाजा र एलेक्स केरीले अर्धशतकीय इनिङ्स खेले । ख्वाजाले ८८ रनको योगदान दिए । केरीले ७१ रन बनाए । यस्तै पाट कुमिन्सले अविजित २३, मार्कूस स्टोनिसले २१ तथा डेभिड वार्नरले १६ रन बनाए । न्युजिल्याण्डका ट्रेन्ड बोल्टले ह्याट्रिक विकेटसहित ४ विकेट लिए ।

बोल्टले अन्तिम ओभरको तेस्रो बलमा ख्वाजा, चौंथोमा मिचेल स्टार्क र पाँचौं बलमा जासन पाउललाई आउट गर्दै ह्याट्रिक पुरा गरे । उनको यो विश्वकपमा पहिलो ह्याट्रिक हो । बोल्ट विश्वकपमा ह्याट्रिक लिने न्युजिल्याण्डको पहिलो खेलाडी समेत बने ।यस्तै लक्की फर्गुसन र जेम्स निशमले २र२ विकेट लिए ।

यो जितसंगै अष्ट्रेलिया अंक तालिकाको शीर्ष स्थानमा यथावत रहन सफल भएको छ । यसअघि नै सेमिफाइनल पुगिसकेको अष्ट्रेलियाले ८ खेलबाट १४ अंक जोडेको छ । यो हारसंगै न्युजिल्याण्डले भने सेमिफाइनलमा स्थान बनाउने मौका गुमाएको छ । अब न्युजिल्याण्डलाई सेमिफाइनलमा स्थान बनाउन अन्य खेल कुर्नु पर्ने भएको छ । न्युजिल्याण्डले ८ खेलबाट ११ अंक जोडेको छ । र, न्युजिल्याण्ड तेस्रो स्थानमा रहेको छ ।