समाचार

जहाँ लोकतन्त्र छ, त्यहाँ प्रेस स्वतन्त्रताको सुनिश्चितता हुन्छः पूर्वराष्ट्रपति यादब

पाल्पा । पूर्वराष्ट्रपति डा रामवरण यादवले जहाँ लोकतन्त्र हुन्छ, त्यहाँ प्रेस स्वतन्त्रता हुने बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ दलित समितिको आयोजना र नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाको आतिथ्यतामा नेपाल पत्रकार महासङ्घ दलित समुदायका पत्रकारको राष्ट्रिय सम्मेलनमा उनले विभेद् लोकतन्त्रले स्वीकार गर्न नसक्ने बताए । उनले जातीय विभेद्का विरुद्ध लडिरहन आग्रह गरे ।

सम्मेलनमा महासङ्घका अध्यक्ष गोविन्द्र आचार्यले कतिपय कानूनमा अझै समानता नभएको बताए । उनले सञ्चारको संरचनामा अझै सङ्घीयता नआएको र पत्रकार महासङ्घमा अहिले दलित, महिला, जनजाति तथा मधेशी लगायतका सचिव रहेका जानकारी गराए ।

कार्यक्रममा सूचना आयुक्त कृष्णहरि बाँस्कोटा, प्रदेश सभा सदस्य तुलाराम घर्ती र वीरबहादुर राना, जिल्ला समन्वय समितिका संयोजक दयाराज बस्याल, तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले दलित समुदायले जातीय आधारमा समस्या भोगेको र त्यस समुदायका पत्रकारका समस्या तथा भोगाइ अझै पीडादायक रहेकाले त्यस्ता समस्या हटाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा न्यूनतम पारिश्रमिक समितिका अध्यक्ष गङ्गाधर पराजुली, महासङ्घका महासचिव रमेश विष्ट, सचिव रेश विक, प्रेस युनियनका अध्यक्ष बद्री सिंग्देल, फनिजका अध्यक्ष डण्ड गुंरुङ, प्रगतिशिल पत्रकार सङ्घका अध्यक्ष नारायण शर्मा र दलित पत्रकार सङ्घका अध्यक्ष विनोद पहाडी, वरिष्ठ पत्रकार पत्रकार मेघराज शर्मा लगायतले दलित समुदाय शिक्षित समुदायबाट अपमानित हुनुपरेको र त्यस समुदायका पत्रकारले पनि जातीय विभेद् तथा आर्थिक समस्या झेल्नु परेको बताए । सम्मेलनमा नेपालभरका सयभन्दा बढी दलित समुदायका पत्रकारको सहभागिता छ ।