आर्थिक

स्थानीय तहमा बैंक नहुँदा सदरमुकाममा भिड

डोटी । जिल्लाका नौ वटा स्थानीय तहमध्ये आठ वटामा बैंकिङ सुविधा नहुँदा सदरमुकामका बैंकमा हिजो–आज उपभोक्ताको भिडभाड लाग्ने गरेको छ । सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दिपायलमा रहेका राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयमा हिजो–आज सेवाग्राहीको थेगी नसक्नु भीड लाग्ने गरेको छ ।

असार महीनाको शुरुआतदेखि नै बैंकमा भीड बढेको राष्ट्रिय वाणिज्य बैंक दिपायलका कर्मचारी गणेश विष्टले बताए । उनले भने, “अन्य स्थानीय तहमा बैँक छैनन्, उपभोक्ताका काम सरकारी बैंकमार्फत हुने भएकाले अहिले उपभोक्ता समितिका पदाधिकारीका कारण बढी भिड भाड भएको हो ।” स्थानीय तहमार्फत सञ्चालित योजनाको भुक्तानी लिनेको भीडा पनि राष्ट्रिय वाणिज्य बैंकमै लागेको छ ।

बैंकमा दिनभर लाइन लागेपछि मात्रै पालो आउने गरेको जिल्लाको बडीकेदारबाट आएका सेवाग्राही प्रकाशबहादुर कलेलले बताए । दिपायल सिलगढी नगरपालिकाबाहेक अन्य आठवटा स्थानीय तहमा अहिलेसम्म पनि सरकारी बैंकहरु स्थापना हुन सकेका छैनन् । निजी क्षेत्रका बैंक स्थापना भएका केही स्थानीय तहमा पनि ढिलो बैंकका शाखा खुलेको तथा उनीहरुको कारोवार पनि वाणिज्य बैंकबाट नै भइरहेकाले सदरमुकाममा उपभोक्ताको बढी भिड लाग्ने गरेको हो ।

जिल्ला सदरमुकाममा अन्य बेला सुनसान भए पनि असार शुरु भएदेखि निकै भीड बढेको स्थानीय व्यापारी मोहन पातलीले बताउनुभयो । उनले भने, “जेठमै सम्पन्न भएका योजनाको भुक्तानी दिन ढिलाइ हुँदा असारमै आएर उपभोक्ताको भिडभाड बढेको हो ।”

गत वर्षको साउन महीनामै स्थानीय तहमा बैंक स्थापना हुने भनिएपनि सुरक्षा, सडक सुविधा विद्युत्लगायतका कारणले बैंकहरु जान नमानेपछि जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय नागरिक बैंकिङ कारोवार तथा तलब भत्ताका लागि जिल्ला र क्षेत्रीय सदरमुकाम दिपायल धाउन बाध्य छन् ।