आर्थिक

स्थानीय तहमा बैंक नहुँदा समस्या

काठमाडौं । स्थानीय तहमा बैंक स्थापना गर्ने सरकारी निर्णय कार्यान्वनमा नआउँदा नागरिकलाई समस्या भएको छ । बैंक स्थापना नहुँदा स्थानीयवासी सास्ती खेप्न बाध्य छन् । सप्तरीको तिरुहुत गाउँपालिका, हनुमाननगर कङ्कालनी नगरपालिका, छिन्नमस्ता गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिकालगायत स्थानीय तहमा बैंक नहुँदा त्यहाँका बासिन्दा सधैँ सदरमुकाम राजविराज धाउनुपर्ने बाध्यता छ । हनुमाननगर कङ्कालनी नगरपालिका–२ का शिवचरण मण्डल बैंक नखुल्दा दैनिक कामकाज प्रभावित भएको बताइएको छ ।

“समान्य कामका लागि समेत राजविराज जानु परेको समयसँगै फजुल खर्च हुने गरेको छ”,। तिलाठी कोइलाडीका नीरज झा राजविराज जाँदा समेत एकै दिनमा काम नसिद्धिदा होटलमा बास बस्नु पर्ने बताएका छन ।सो गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले स्थानीय तहमा बैंक नहुँदा विकास निर्माणको काम प्रभावित हुने गरेको बताएका छन ।

यस्तै तिरुहुत गाउँपालिकामा बैंक नहुँदा दैनिक कामकाजका लागि त्यहाँका बासिन्दा सदरमकाम वा कञ्चनपुर जानुपर्ने बाध्यता रहेको गाउँपालिकाका अध्यक्ष मनोज भडखेर यादवले बताए । सानोतिनो रकम भुक्तानी लिन सदरमुकाम जानुपर्छ । विदेशबाट पठाएको रकम लिन राजविराज जानुपर्दा सर्वसाधारण हैरान छन् । घण्टौँ लाइनमा बस्नुपर्छ । जिल्लामा नौ नगरपालिका तथा नौ गाउँपालिका रहेको छ । चार स्थानीय तहमा मात्र बैंक स्थापना गरिएको छ ।