समाचार

मुलुकमा स्थायी शान्ति जरुरी, शान्तीपूर्ण बाटोबाट समाधान खोजौंः पूर्वराष्ट्रपति यादव

बुटबल । पूर्वराष्ट्रपति डा रामवरण यादवले मुलुकमा स्थायी शान्ति र समृद्धि जरुरी रहेको बताएका छन् । नेपाल प्रेस युनियन रुपन्देही शाखाद्वारा बुटवलमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले अब देशले कुनै पनि आन्दोलन थेग्न नसक्ने भएकाले शान्तीपूर्ण बाटोबाट समस्याको समाधान खोज्नुपर्ने बताए ।

लामो सङ्घर्षबाट आएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई स्थापित गरी समृद्धि हासिल गर्नतर्फ सबै लाग्नुपर्ने पूर्वराष्ट्रपति यादवको धारणा राखे । उनले सङ्घीयतामार्फत देशले तीन तहको सरकार प्राप्त गरेकाले जनताका आवश्यकता पूरा गर्नतर्फ ध्यान दिनुपर्ने बताए । “संविधानमार्फत सबै भाषाभाषी र क्षेत्रका अधिकार सुनिश्चित गरिएको छ । अब देखिएका समस्या संसद्मा छलफल गरेर संवैधानिक प्रकृयाबाट हल गर्नुपर्छ”, उनले भने ।

मुलुकमा लोकतन्त्र स्थापना गर्न पत्रकारहरुको महत्वपूर्ण भूमिका रहेकाले लोकतन्त्रको पहरेदार बनेर यसको रक्षा गर्नुपर्ने पूर्वराष्ट्रपति यादवको भनाइ थियो । “पत्रकारहरुलाई नै देशको विषयमा बढी जानकारी छ । के सही के गलत छुट्टयाएर खबरदारी गर्नुपर्छ”, उनले भने । अझैपनि मुलुकमा स्थायी शान्ती कायम नभएका कारण सबै सचेत रहनुपर्नेमा उनले जोड दिए । सत्य निरुपण र वेपत्ता अयोगलाई सक्रिय बनाई राष्ट्रिय स्तरबाटै समस्याको हल खोजिनुपर्ने पूर्वराष्ट्रपति यादवले बताए ।

“पहाड र मधेशलाई जोड्ने गरी काम गर्नुपर्छ । यहाँ कसैले शोषण गरेको छैन । राजनीतिक शोषण भएको हो”, उनले भने, “संविधान निर्माणसँगै अहिले मुलुकमा परिवर्तन आएको छ ।” पूर्वराष्ट्रपति यादवले पहाड र तराईमा ताल तलैया धेरै भएकाले यसको संरक्षणमा सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । पर्यावरणको उचित संरक्षण नभए भविष्यमा सङ्कट उत्पन्न हुने भएकाले समयमै सचेत हुनुपर्ने उनको भनाइ थियो । पाल्पामा आयोजना गरिएको दलित पत्रकारहरुको भेलामा सहभागी हुन त्यसतर्फ जानेक्रममा पूर्वराष्ट्रपति यादव आज रुपन्देही आएका हुन् ।