प्रदेश 2

मुसलधारे पानी परेपछि जलेश्वर कारागार डुबानमा

गौशाला । आज बिहान मुसलधारे पानी परेपछि जलेश्वर कारागार डुबानमा परेको छ । बिहान ५ बजेबाट करीब डेढ घण्टासम्म भीषण रुपमा परेको मुसलधारे पानीको कारण महोत्तरी, धनुषा र केही वर्षदेखि सर्लाही जिल्लाको समेत संयुक्त कारागारको रुपमा रहेको जलेश्वर कारागार डुबानमा परेको हो ।

झण्डै १६० वर्ष पुरानो राणाकालीन समयमा निर्माण भएको जलेश्वर कारागार जलेश्वर नगरपालिका–२ मा सबैभन्दा गहिरो स्थानमा अवस्थित छ भने वर्षाको बेला यो कारागार पटकपटक डुबानमा पर्ने गरेको निमित्त जेलर प्रदीपकुमार साहले बताए। मुसलधारे वर्षाको पानीले कारागारको बाहिर मूलद्वारदेखि भित्र कैदीबन्दी प्रवेश गर्ने मूल ढोकासम्म पनि पानी भरेको छ । कारागारभित्र कैदीबन्दी बस्ने बन्दीगृहबाट पानी निकासका लागि बनाइएको नाला भएर पनि बाहिरको पानी भित्र प्रवेश गरेर पूरै कारागार जलमग्न र अस्तव्यस्त भएको चौकीदार श्यामसुन्दर यादवले बताए।

उनका अनुसार वर्षा र बाहिरी नालाबाट आएको पानीले गर्दा भित्रका कैदीबन्दीलाई खाना पकाउन, खान, बस्न, सुत्न, शौचालय जान र घुमफिर गर्न लगायतका विभिन्न समस्या भएको छ । जलेश्वर कारागारमा हाल ४१९ जना पुरुष, ४१ जना महिला र तीन आश्रित बालबालिका गरी जम्मा ४६३ जना कैदीबन्दी रहेका छन् ।

त्यस्तै कारागार सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरी बस्ने ब्यारेक समेत पानीले प्रभावित बनेको छ । वर्षाको बेला बाहिरी शहरको पानी समेत नाला भएर कारागारमा प्रवेश गर्दा हुने गरेको समस्याबारे जलेश्वर नगरपालिकालाई पटकपटक लिखित र मौखिक रुपमा आग्रह गर्दा पनि कुनै सुनुवाइ नगरिएको निमित्त जेलर साहले गुनासो गरे ।