गण्डकी प्रदेश

बोक्सी कुप्रथाविरुद्ध ‘अग्नि दहन’ प्रदर्शन

वालिङ । स्याङ्जाको गल्याङमा बोक्सी कुप्रथाविरुद्ध ‘अग्नि दहन’ प्रदर्शन गरिएको छ । लैङ्गिक हिंसाविरुद्धको अभियानअन्तर्गत बोक्सी कुप्रथाका विरुद्ध जनचेतना जगाउने उद्देश्यले सामाजिक वृत्तचित्र ‘अग्नि दहन’ प्रदर्शन गरिएको हो ।

मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपाल र सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश पोखराको संयोजनमा प्रदर्शन गरिएको जनचेतनामूलक वृत्तचित्रलाई गण्डकी प्रदेशका सबै जिल्ला तथा सातै प्रदेशमा प्रदर्शन गरिने प्रतिष्ठान नेपालका अध्यक्ष कोविदशरण उपाध्यायले बताए ।

“हाम्रो समाजमा अझै पनि बोक्सीको आरोपमा कुटपिट गर्ने, मलमूत्र खुवाउने, सामाजिक वहिष्कार गर्ने प्रवृत्ति छ”, प्रतिष्ठानका अध्यक्ष उपाध्यायले भने, “समाजमा रहेका अन्धविश्वास, कुरीति, डर भयलाई हटाउन यो अभियानलाई देशैभर पु¥याई प्रदर्शन गरिनेछ ।”

समाजमा सदियौँदेखि यसप्रकारका कुप्रथाले जरा गाडेर बसेकाले पनि यस्ता कुरीति तथा कुप्रथाको अन्त्यका लागि बोक्सी कुप्रथाविरुद्ध ‘अग्नि दहन’ निर्माण गरी प्रदर्शन गरिएको प्रतिष्ठानका सचिव रमा त्रिपाठीले बताए ।

“हाम्रो समाजमा जबसम्म मानिस सचेत हुँदैनन्, तबसम्म कुप्रथा अन्त्य हुने अवस्था म देख्दिनँ”, गल्याङ नगरपालिका शिक्षा, युवा तथा खेलकूद शाखा प्रमुख केदारनाथ आचार्यले भने, “धर्म संस्कृतिको नाममा समाजमा बोक्सी कुप्रथाले जरा गाडिरहेको अवस्थामा यसको अन्त्यका लागि सामाजिक संस्कारको आवश्यकता छ ।” घनश्याम लामिछानेद्वारा निर्देशित वृत्तचित्र ‘अग्नि दहन’ ले बोक्सी आरोपमा परेकी महिलाको कथा बोल्छ । फिल्मको कथा, पटकथा र संवाद लोकमणि पौडेलले लेखेको हुन् ।