लुम्बिनी

सिंहदरबारको अधिकार गाउँगाउँमा भन्ने नारा सुस्ता वासिको लागि नारामै सिमीत

नवलपरासि । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ का सुस्तावासीका लागि सिंहदरबारको अधिकार गाउँगाउँमा भन्ने नारा नारामै सीमित भएको छ । सुस्तावासीलाई आफ्नै वडा कार्यालय भवन आउन सास्ती भोग्नुपर्ने बाध्यता अहिलेको मात्रै नभई पुरानै समस्या रहेको छ । तर पनि उनिहरुको समस्यामा अझैपनि सरकारको आँखा पर्न नसकेको बचाऊ अभियानका अध्यक्ष गोपाल गुरुङले बताएका छन ।

सङ्घीय संरचनाअनुसार सुस्तागाउँ, सुस्ता गाउँपालिका–५ मा पर्दछ । तर सुस्तामा भने वडा कार्यालय भवन छैन । नारायणी नदीपारि सो वडा कार्यालयको भवन पक्लिहवाको रामनगरमा छ । वडा कार्यालय भवन आउनलाई सुस्तागाउँदेखि करीब दुई घण्टाको समय खर्च गर्नुपर्ने उनिहरुको वाध्यता छ । विशेषगरी सहज यातायातको पहुंच नहुंदा सुस्तावासी नारायणी नदीमा डुङ्गाको प्रयोग गरेर आउनुपर्ने अथवा भारतीय भूमि हँुदै नेपाल प्रवेश गरेर आउने हुदा सो वडामा पुग्न करीब दुई घण्टा लाग्ने अवस्था रहेको बताईएको छ ।

नारायणी नदीमा डुङ्गाको यात्राबाहेक भारतको बाटो हुंदै नेपाल पुग्नुपर्ने बाध्यता छ यतीमात्र होईन पटक–पटक भारतीय सुरक्षाकर्मीको चरम दुव्र्यवहारका बाबजुत पनि अधिकांश सुस्तावासी भारतीय भूमि हुंदै नेपाल आउन बाध्य छन । नारायणी नदीमा डुङ्गाको जोखिमपूर्ण यात्राका कारण वडा कार्यालय आउन पनि सुस्तावासीलाई निकै सास्ती भोग्नुपर्ने बाध्यता छ । आफ्नै वडा कार्यालय भवन पक्लिहवा जान नारायणी नदीमा पुल नभएकाले वर्षाको समयमा जोखिमपूर्ण डुङ्गा तरेर आउन पनि निकै समस्या भएको सुस्ता बचाऊ अभियानका उपाध्यक्ष आदम खाँले बताएका छन ।

वर्षाको समयमा नारायणी नदीमा पानी बढेर डुङ्गासमेत नचल्ने अवस्था समस्या छ । नारायणी नदीमा पुल निमार्णको काम शुरु सरकारको भनौ या स्थानीय प्रशासानको लार्पबाहिका कारण बीचैमा अधुरो रहेको छ । अहिलेसम्म पुल निर्माणकार्य पूरा हुन नसक्दा दैनिकरूपमा चाहिने सामानका लागि सुस्तावासी भारतीय बजार जान बाध्य छन् । निर्माणाधीन झोलुङ्गे पुल चाँडै सम्पन्न गर्ने कार्यमा गाउँपालिका लागिपरेको गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डे बताएका छन । तर पनि भनिन्छ नि ‘सास छन्जीको आस’ भने जस्तै सुस्तावासीले नारायणी नदीमा पुल बन्ने आस अहिलेसम्म मारेका छैनन् । दुई सय ६५ घरधुरी रहेको सुस्तामा करीब दुई हजार ५०० जनसङ्ख्या छ ।