कृषि

प्रदेश नं २ लाई कृषि प्रधान प्रदेश बनाउछौंः सहकारी मन्त्री साह

लहान । प्रदेश नं २ लाई कृषि प्रधान प्रदेश बनाईने भएको छ । प्रदेश नं २ का भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले प्रदेश २ लाई कृषि प्रधान प्रदेश बनाउने गरी नीति तथा कार्यक्रममा कृषिलाई प्राथमिकता दिएको बएका छन ।

आँप उत्पादनको दृष्टिकोणले अग्रणी मानिने सप्तरीको सुरुङ्गा नगरपालिका–६ श्रीपुर कुशहामा शुरु भएको राष्ट्रिय आँप महोत्सव २०७६ को उद्घाटन कार्यक्रममा मन्त्री साहले प्रदेश नं २ लाई कृषिमार्फत नै समृद्ध बनाउन सकिने भएकाले प्रदेश सरकारको नीति तथा कार्यक्रममा कृषिलाई प्राथमिकता दिइएको बताएका हुन । सबै खेतमा सिँचाइ, हरेक किसानको हातमा पानी पु¥याउने उद्देश्यले प्रदेश सरकारले व्यापकरूपमा डिपबोरिङ जडान गर्नुका साथै पाँच हजार साना किसानलाई स्यालो ट्युवेल वितरण गर्ने योजना बनाएको मन्त्री साहले बताएका छन ।

कृषिलाई आत्मनिर्भर नबनाएसम्म प्रदेश वा देश नै समृद्ध बन्न नसक्ने उल्लेख गर्दै मन्त्री साहले कृषिलाई आत्मनिर्भर बनाएर स्वदेशमै युवालाई रोजगारीको वातारण बनाउने योजनाका साथ प्रदेश सरकार अघि बढेको जानकारी दिएका छन । सप्तरी, सिरहा, धनुषा र महोत्तरीलाई आँप जोनको रूपमा विकास गर्न लागेको उल्लेख गर्दै उहाँले प्रदेश नं २ का तीन जिल्लामा निर्माण हुने आँप प्रशोधन केन्द्रमध्ये एउटा सप्तरीको श्रीपुरमै स्थापना गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन ।

नगरपालिकाका प्रमुख मुक्तिनाथ चौधरीले प्रशोधन केन्द्र नहुँदा स्थानीय किसानले उत्पादन गरेको आँप सस्तोमा बिक्री गर्न बाध्य रहेको बताउनुभयो । उनले आँप उत्पादनको अग्रणी रहेको सुरुङ्गा नगरपालिकालाई आँप जोनको रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन ।

स्थानीय आँपको प्रचारप्रसारसँगै आँपखेतीलाई प्रोत्साहित गर्दै आँप उत्पादनमा वृद्धि गर्ने उद्देश्यले शुरु भएको महोत्सवमा स्थानीय किसानद्वारा उत्पादित विभिन्न जातका आँपको छ स्टल राखिएको छ । सप्तरीमा कूल पाँच हजार हेक्टर क्षेत्रफलमा आँपखेती हुँदै आएको छ । सुरुङ्गा नगरपालिका–६ श्रीपुरमा मात्रै ५०० हेक्टर क्षेत्रफलमा आँपखेती भइरहेको वडाध्यक्ष लीलाकान्त चौधरीले जानकारी दिएका छन ।