समाचार

नदीले बगाएर एक बेपत्ता, एकको उद्धार

दमौलि । तनहुँको देवघाट गाउँपालिका–५ स्थित कालीगण्डकी नदीले बगाउँदा बिहीबार साँझ एक बेपत्ता भएका छन् । अर्का एक जनाको भने जीवितै उद्धार गरिएको छ । कालीगण्डकी नदीको किनारमा पौडी खेल्ने क्रममा नदीले बगाएर काठमाडौँ वनस्थली बस्ने २१ वर्षीय किरण घिमिरे बेपत्ता भएका हुन् ।

घिमिरेसँगै पौडी खेलेका चितवन भरतपुर महानगरपालिका–११ बसेनी बस्ने २३ वर्षीय शिवहरि सुवेदीलाई भने जीवितै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो । सुवेदी र घिमिरे नाताले मामा भान्जा हुन् ।

नदीले बगाएको अवस्थामा हारगुहार गर्दा सुवेदीलाई स्थानीयवासीले उद्धार गरेका थिए भने घिमिरे भने हालसम्म फेला पर्न नसकेको प्रहरीले जनाएको छ । जीवितै उद्धार गरिएका सुवेदीको अवस्था सामान्य रहेको र बेपत्ता रहेका घिमिरेको भने खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।