समाचार

डडेल्धुराको स्वास्थ्य संस्थामा खानेपानिको चरम अभावः सुत्केरी सेवा प्रभावित

डडेल्धुरा । मुलुकका विभिन्न जिल्लामा पानिको अभाव खडकिरहँदा डडेल्धुरा जिल्लाको एक स्वास्थ्य संस्थामा खानेपानीको चरम समस्या बल्झिएको छ । उक्त जिल्लाको एक स्वास्थ्य संस्थामा पानिको अभाव हुँदा सुत्केरीसेवा समेत प्रभावित भएको छ । जिल्लाको अमरगढी नगरपालिका–१० राईस्थित सहस्रलिङ्ग स्वास्थ्य चौकीमा आपूर्ति हुँदै आएको खानपानीकोे मुहान सुकेर पानीको सतह कम भएपछि खानेपानीको चरम अभाव भएको हो ।

स्वास्थ्य संस्थामा नै खानेपानी अभाव हुँदा सुत्केरी सेवासँगै अन्य बिरामी र कर्मचारीले सास्ती भोग्नुपरेको छ । बर्थिङ सेन्टरसमेत रहेको यस स्वास्थ्य चौकीमा खानेपानीको चरम अभाव भएपछि सुत्केरी महिलालाई झनै बढी समस्या हुने गरेको छ । खानेपानीको आपूर्ति नहुँदा सुत्केरी सेवा प्रभावित भएको स्वास्थ्य सस्थाले जनाएको छ । स्वास्थ्य चौकीमा खानेपानीको चरम अभाव भएपछि सुत्केरी महिलाको सरसफाइ र अन्य कुराका लागि पानीको जोहो गर्न खोलाबाट पानी भरेर ल्याउनुपर्ने बाध्यता रहेको स्वास्थ्य चौकीका इन्चार्ज नवीन नेपालीले बताएका छन ।

दरमुकामसँगै जोडिएको उक्त वडाका अन्य विद्यालय र गाउँमा समेत खानेपानीको समस्या रहेको छ । स्वास्थ्य चौकीमा नगरपालिकाको दमकलले खानेपानीको आपूर्ति गर्दै आइरहेको भएपनि त्यो पर्याप्त हुन नसकेको इन्चार्ज नेपालीले बताएका छन । जथाभावी वनजगङ्ल फँडानी गर्दा र उच्च भारका डोजर, स्काईभेटरको प्रयोगबाट सडक खन्दा पानीका मूलहरु सुकेर गएको विज्ञहरु बताउँछन् । साथै पानीको मूल नजिकबाट सडकहरु लैजाँदा खानेपानीको समस्या अझ बल्झेको बताइन्छ ।