खेलकुद

आईसीसी विश्वकप क्रिकेटमा भारतको अपराजित यात्रा कायमैः वेष्ट इण्डिज प्रतियोगिताबाट बाहिरियो

एजेन्सी । उपाधि दाबेदार राष्ट्र भारतले इंग्ल्याण्डमा जारी आईसीसी विश्वकप क्रिकेटमा अपराजित यात्रालाई निरन्तरता दिएको छ । म्यानचेस्टरमा बिहिबार भएको खेलमा भारतले वेष्ट इण्डिजलाई १ सय २५ रनले पराजित गर्दै आफनो अपराजित यात्रा लाई कायमै राखेको हो ।

हारसंगै वेष्ट इण्डिज भने प्रतियोगिताबाट बाहिरिएको छ । ओल्ड ट्राफोर्डमा भारतले दिएको २६९ रनको मध्यम लक्ष्य पछ्याएको वेष्ट इण्डिज ३४ ओभर २ बलमा अलआउट हुँदै १४३ रनमा नै समेटियो । भारतीय बलरको उकृष्ट प्रर्दशन गरेको खेलमा वेष्ट इण्डिजका लागि सुनिल एम्ब्रिसले सर्वा्धिक ३१ रन बनाए । यस्तै निकोलस पुरनले २८ रन जोडे । त्यस्तै शिम्रन हिटमायरले १८ रन जोड्दा केमार रोचले १४ रन बनाए ।

वेष्ट इण्डिजका क्रिस गेल मात्र ६ रनमा आउट हुँदा कप्तान जासन होल्डर पनि ६ रनमा पेभेलियन फर्किए । वेष्ट इण्डिजलाई सस्तैमा समेट्न भारतका मोहमद शामीले ४ विकेट लिए । किफायती बलिङ गरेका शामीले ६ ओभर २ बलमा मात्र १६ रन खर्चिए । यस्तै जस्प्रित बुम्राह र युजभेन्द्र चाहलले २–२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धा्रित ५० ओभरमा ७ विकेट गुमाउँदै २६८ रन बनाएको थियो । भारतका लागि कप्तान विराट कोहलीले सर्वा्धिक ७२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै महेन्द्र सिंह धोनीले ६८ रनको अर्धशतकीय इनिङ्स खेले ।
त्यस्तै ओपनर लोकेश राहुलले ४८ रन जोड्दा हार्दिक पाण्ड्याले ४६ रनको योगदान गरे । वेष्ट इण्डिजका केमार रोचले ३ विकेट लिए । यस्तै कप्तान जेसन होल्डर र शेल्डोन कोट्रेलले २र२ विकेट लिए ।

जितसंगै अपराजित यात्रा कायमै राख्दै भारत सेमिफाइनल नजिक पुगेको छ । वेष्ट इण्डिजलाई हराएर दोस्रो स्थानमा उक्लिएको भारतले ७ खेलबाट ११ अंक जोडेको छ । विश्वकपमा यो भारतको छैटौं जित हो ।  वेष्ट इण्डिजको भने यो पाँचौ हार हो । यो हारसंगै वेष्ट इण्डिज प्रतियोगिताबाट बाहिरिने तेस्रो टिम बनेको छ । पुछारबाट तेस्रो स्थानमा रहेको वेष्ट इण्डिजको ७ खेलबाट ३ अंक छ । यसअघि प्रतियोगिताबाट अफगानिस्तान र दक्षिण अफ्रिका बाहिरिसकेकेका छन्।