समाचार

विप्लव समूहका क्रियाकलाप देशको शान्ति र स्थिरता विरोधीः सञ्चारमन्त्री बाँस्कोटा

काठमाण्डौ । सरकारले ‘क्लिन फीड’ नीति लागू गरेरै छाड्ने दृढता व्यक्त गरेको छ । टेलिभिजन सेवा प्रदायकले क्लिन फीड नीति लागू गर्न लागेको भन्दै टेलिभिजन प्रसारण नै बन्द गरिरहेको बेला सरकारले उक्त नीति लागू गराउन कुनै पनि कसर बाँकी नराख्ने स्पष्ट पारेको हो ।

प्रतिनिधिसभाको समितिमा छलफल भइरहेको प्रस्तावित ‘विज्ञापन ऐन २०७६’ को केही व्यवस्थामाथि प्रश्न उठाउँदै टेलिभिजन सेवा प्रदायकले टेलिभिजन प्रसारण नै बन्द गरेर विरोध जनाएका थिए ।

नेपालको कला संस्कृतिको संरक्षण, भाषाको शुद्धता तथा नेपाली कलाकार र विज्ञानपन दाताको समेत हितलाई केन्द्रमा राखेर उक्त नीति लागू गर्न लागिएको सरकारको भनाइ छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री गोकुलप्रसाद बाँस्कोटाले उक्त नीति लागू गरेरै छाडिने बताए ।

नेपालको पत्रकारिता क्षेत्र, मिडिया उद्योग, विज्ञापन व्यवसायीले वर्षौ पहिलेदेखि माग गर्दै आएको क्लिन फीड नीतिलाई सरकारले इमान्दर भएर लागू गर्न खोजेको उनको प्रष्टोक्ति छ । उक्त नीतिले हाम्रो आर्थिक हित मात्रै नभई मौलिकताको प्रवर्धन गर्ने नेपाली पन, नेपाली गौरवको बढावा दिने र रोजगारीको समेत अभिवृद्धि हुने मन्त्री बाँस्कोटाको भनाइ छ ।

उनले नेपालको प्रतिस्पर्धी क्षमताको विकासका लागिसमेत क्लिन फीड नीति लागू गर्न लागिएको स्पष्ट पारे । विपक्षमा रहेका व्यवसायीको विरोधको कुनै अर्थ नरहेको भन्दै उनले भने, “क्लिन फीड लागू भएर छाड्छ । समानुपातिक विज्ञापन नीति पनि लागू भएर छाड्छ । व्यवसायीले विरोध गर्न पाउँछन् । विधेयक समितिमा छलफल भइरहेको छ । पारित हुन्छ । अरु केही कानून पनि आउँछन् । कानूनहरु आउँछन् त्यसमाथि छलफल हुनु राम्रो हो ।”

विप्लव प्रतिक्रान्तिकारी

पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले नेत्रविक्रम चन्द समूहको क्रियाकलाप प्रतिक्रान्तिकारी र समाजको शान्ति र स्थिरता विरोधी रहेको बताए । नेपाली जनताको ठूलो त्याग र बलिदानबाट प्राप्त भएको उपलब्धिलाई समेत धरापमा पार्ने गरी सो समूहले हत्या, हिंसा गरेको, चन्दा आतङ्क मच्चाएको र संविधान विरोधी गतिविधि गरेको उल्लेख गरे । निर्दोष नागरिकको ज्यान जाने गरी सो समूहले संविधान विपरीतको गतिविधि गरेको र पटक पटक वार्ताका लागि प्रयास गर्दासमेत नआएको भन्दै उहाँले हिंसाले केही पनि प्राप्त नहुने स्पष्ट पारे । शान्ति सुरक्षा माथि खलल पु¥याउने, शान्ति स्थिरता र लोकतन्त्र माथि आँच आउने गतिविधिलाई नियन्त्रण गर्नु सरकारको दायित्व हुनेसमेत उनको प्रष्टोक्ति थियो ।

पृथकतावादी गतिविधि गर्दै आएको सिके राउत समूहसमेत राजनीतिक मूल धारमा आई दल दर्ता गरेको सन्दर्भमा विप्लव समूह हिंसा र आतङ्कको साहरामा अल्झिएको भन्दै त्यस्ता क्रियाकलापले कोही कसैको भलो नगर्ने स्पष्ट पारे । उनले भने, “विप्लव समूहको गतिविधि क्रान्तिकारी नभएर प्रतिक्रान्तिकारी गतिविधि हो । समाजवादी नभई फाँसीवाद र राजनीतकि नभएर आपराधिक खालको देखिन्छ । घटनाक्रमले त्यही पुष्टि गरेको छ ।” मन्त्री बाँस्कोटाले हत्या हिंसा र आतङ्कबाट राष्ट्र, नागरिक र देशलाई जोगाउनु हामी सबैको र विशेष गरी सरकारको दायित्व रहेको बताए ।

चन्द समूहले अहिले पनि उस्तै गतिविधि जारी राखेको भन्दै उनले नेपालले प्राप्त गरेको राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक परिवर्तनको उपलब्धिलाई पनि गुमाउने गरी काम गरेको उल्लेख गरे । एकाध घटनालाई जोडेर समग्रमा नहेर्नसमेत उनले आग्रह गरे ।

मन्त्रिमण्डल पुनःगठन प्रधानमन्त्रीको विशेषाधिकार

मन्त्रिपरिषद् पुनः गठनको बारेमा सञ्चारकर्मीको जिज्ञाशामा मन्त्री बाँस्कोटाले त्यो प्रधानमन्त्रीको विशेषाधिकार रहेको बताए । प्रधानमन्त्रीको अधिकारको विषयमा आफूले जवाफ दिन नसक्ने भन्दै मन्त्री बाँस्कोटाले भने, “मन्त्रीहरु प्रधानमन्त्रीप्रति उत्तरदायी हुन्छन् । राख्न, हटाउन, विस्तार गर्न पाउने प्रधानमन्त्रीको अधिकार हो ।”