लुम्बिनी

बालबालिकालाई झोला वितरण

राँझा । मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमअन्तर्गत बाँकेमा कक्षा १ मा भर्ना भएका बालबालिकालाई झोला वितरण गरिएको छ । जानकी गाउँपालिका र नरैनापुर गाउँपालिकाअन्तर्गत रहेका सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई झोला वितरण गरिएको जिल्ला सहजकर्ता केशव चालिसेले बताए ।

उनका अनुसार बालबालिकालाई विद्यालयमा अध्ययन गर्न आउन सजिलो बनाउनका लागि झोला वितरण गरिएको हो । यो कार्यक्रमअन्तर्गत जानकी गाउँपालिकाभित्रका छ वटै वडामा कक्षा १ मा यो वर्ष नयाँ भर्ना भएका एक हजार ७३३ विद्यार्थीले झोला र कापी प्राप्त गरेका छन् ।

मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमअन्तर्गत कक्षा १ मा भर्ना भएका बालबालिकालाई झोला वितरण गरिएपछि बालबालिकालाई विद्यालय आउन–जान धेरै सजिलो भएको जानकी गाउँपालिका–१ स्थित नेराप्रावि पचपोखराका प्रधानाध्यापक द्रोण थापाले बताए। उनका अनुसार नेराप्रावि पचपोखरामा २४ बालबालिकालाई झोला र कापी वितरण गरिएको छ । यसले बालबालिकालाई विद्यालय नियमिततामा सघाउ पुगेको छ । जानकी गाउँपालिकामा विद्यालय भर्ना र विद्यालयमा बालबालिका टिकाउन सहयोग पुग्ने अपेक्षाका साथ कक्षा १ मा नयाँ भर्ना भएका बालबालिकालाई झोला र कापी वितरण गरिएको गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले बताए ।

बालबालिकालाई झोला वितरण कार्यक्रम प्रभावकारी रहेको आधारभूत विद्यालय गुरुवागाउँकी शिक्षक सन्ध्या शर्मा बताए । बाँकेको जानकी, डुडुवा र नरैनापुर गाउँपालिकामा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम लागू भएको छ । कार्यक्रमअन्तर्गत नरैनापुर गाउँपालिकाका १७० विद्यार्थीलाई विद्यालय जानका लागि झोला र पोशाक वितरण गरिएको छ ।

यसले आर्थिक रुपमा विपन्न परिवारका बालबालिकालाई विद्यालय जानका लागि प्रोत्सहान मिलेको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताए । मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमले गाउँपालिकाका अति गरीब, विपन्न र आर्थिक रुपले पछाडि परेका परिवारलाई प्रत्यक्ष सहयोग हुने गरी कार्यक्रम सञ्चालन गरिएको बाँके जिल्ला सहजकर्ता चालिसेले जानकारी दिए ।