समाचार

नेकपाले सरकारका मन्त्रालयको काम कारवाहीको समीक्षा गर्नेबेला आयो- नेता रावल

अत्तरिया । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सुदूरपश्चिम प्रदेश इन्चार्ज भीमबहादुर रावलले सरकारले आफ्ना काम कारवाहीको समीक्षा गरी अघि बढ्नुपर्ने बताएका छन् ।

नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टीले सरकारका मन्त्रालयको काम कारवाहीको समीक्षा गर्नुपर्ने धारणा राखे ।

उनले पार्टीको सम्बन्धित निकायमा मन्त्रालयगत रूपमा सरकारका समग्र कामको मूल्याङ्कन र समीक्षा गरिएमा सरकारका मन्त्रिमण्डल फेरबदल गर्ने÷नगर्ने बारेमा भन्न सकिने बताए।

सरकार फेरबदलका विषयमा आफूलाई कुनै जानकारी नभएको भन्दै उनले आवश्यकताका आधारमा पार्टीले त्यस विषयमा गहन छलफल गर्ने उल्लेख गरे ।

उनले सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्ला कमिटीले पूर्णता पाइसकेको जानकारी गराउँदै नौ वटै जिल्ला कमिटीका पदाधिकारीको शपथग्रहण कार्यक्रमसमेत सम्पन्न भइइसकेकाले अब पार्टीका भातृ सङ्गठनको एकीकरण कार्यलाई तीव्रता दिइने बताए ।