बाग्मती

पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमाः सवारी साधन गन्तव्यतर्फ पठाइदै

काठमाडौं । सडकमाथिबाट लेदो सहितको पहिरो सडकमा खसेपछि अवरुद्ध वनेको पृथ्वी राजमार्ग एकतर्फी रुपमा सञ्चालनमा आएको छ । सडकमा खसेको लेदोले बिहीबार बिहान २ः३० बजेदेखि उक्त सडक अवरुद्ध बनेको थियो । लेदोले पुरिएको धादिङको गल्छी गाउँपालिका–६ स्थित बैरेनीबजारदेखि महेशदोभान बजारसम्मको एक किलोमिटर सडकको अवरोध एकतर्फी पन्छाएर सवारी सञ्चालनमा ल्याइएको हो ।

सडकलाई पूर्ववत सञ्चालनमा ल्याउन अहिले गाउँपालिका र बालुवाखानी व्यवसायीको डोजर प्रयोग गरेर काम भइरहेको प्रहरीले जनाएको छ । सडक अवरुद्धपछि बिहीबार बिहानैदेखि लाइनमा फसेका सवारीलाई सडक एकतर्फी सञ्चालनमा आएपछि पालैपालो गन्तव्यतर्फ पठाउन थालिएको छ । देशकै प्रमुख लाइफलाइन पृथ्वीराजमार्ग अवरुद्धपछि सडकका दुवैतर्फ लामो लाइन लागेको थियो । जुन विस्तारै कम हुँदै गएको छ ।

सडकभन्दा माथिबाट बालुवा निकाल्ने गरिएकाले यो क्षेत्रको सडकमा लेदोको समस्या देखिँदै आएको छ । त्यस्तै, राजमार्ग माथिबाट खनिएको सडकको लेदोले पनि समस्या आउने गरेको गुनासो स्थानीयले गरेका छन् ।