समाचार

लाखौँ ठगी गर्ने लम्साल पहरी फन्दामा

बर्दिवास । आफुलाई राजश्री सेभिङ एण्ड को–अपरेटिभ सोसाइटी संस्थाको जनकपुर शाखा प्रबन्धक भएको बताउँदै लाखौँ ठगी गर्ने एक जनालाई प्रहरी पक्राउ गरेको छ ।
आम सर्वसाधारणलाई झुटो परिचय दिँदै लाखौँ रकम ठगी गर्ने तेह्रथुमका ४४ वर्षीय रमेश लम्साललाई इलाका प्रहरी कार्यालय बर्दिवासले बुधबार पक्राउ गरेको हो ।
तेह्रथुम जिल्लाको जलजलेका घर भएका लम्साल र हाल सुनसरी जिल्लाको धरान उपमहानगरपालिका–७ मा बसोबास गर्दै आएकोे प्रहरीले जनाएको छ ।

लम्सालले बर्दिवास नगर क्षेत्रका थुप्रै सर्वसाधारणको जग्गा धितो राख्न लगाउँदै रु ४८ लाखभन्दा बढी रकम ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्नआएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक निशान थापाले जानकारी दिएका छन ।

लम्साललाई बुधबार नै महोत्तरी जिल्ला अदालतमा उपस्थित गराई अदालतको स्वीकृतिमा थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । पीडित सर्वसाधारणले गरेको उजुरी र दिएको हुलियाका आधारमा लम्साललाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक थापाको भनाइ छ ।