समाचार

गल्ती गर्नेलाई कानुनसम्मत कारवाही गर्न प्रहरी सदैब अगाडीः महानिरिक्षक खनाल

काठमाण्डौ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपराध नियन्त्रण गरी शान्ति सुरक्षा कायम गर्न प्रहरी, विद्यालय र समाज एक साथ लाग्नुपर्नेमा जोड दिएका छन् ।

समुदाय– प्रहरी साझेदारी अभियानको प्रहरी विद्यालय सम्पर्क कार्यक्रमअन्तर्गत आज प्रहरी प्रधान कार्यालयमा भएको अन्तरकृयाका क्रममा उनले शिक्षाको गुणस्तर राम्रो बनाउन र समाजमा शान्ति सुव्यवस्था कायम गर्न प्रहरी, विद्यालय र समाज एकसाथ मिलेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।

“यही कुरा हरेक स्कुल र समाजमा बुझाउनुपर्छ भन्ने भावना जागृत भएर नै प्रहरीले विद्यालय सम्पर्क कार्यक्रम ल्याएको हो”, खनालले भने। के काम गरे अपराध हुन्छ भन्ने जानकारी नहुँदा विद्यार्थी अपराधमा फस्ने गरेको दृष्टान्त प्रस्तुत गर्दै उनले अनुशासनमा रहनसके समस्या नआउने बताए ।

‘प्रहरीसँग एक दिन’ कार्यक्रममा बोल्दै उनले भूकम्प, प्राकृतिक प्रकोप, सडक सुरक्षालगायतका क्षेत्रमा स्कुलले समेत सामान्य नियम बनाइ लागू गर्नसक्ने भएकाले यस्ता विषयमा समुदाय–प्रहरी साझेदारी कार्यक्रममा विस्तृत व्याख्या गरिएको उल्लेख गरे । विद्यार्थीले राखेको जिज्ञासा निरुपण गर्दै प्रहरी महानिरीक्षक खनालले सभ्य समाज निर्माण गर्न सबै जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

गल्ती गर्नेलाई कानुनसम्मत कारवाही गरिएको उल्लेख गर्दै उनले प्रहरीका सकारात्मक पक्षलाई पनि हेरिनुपर्ने बताए । भ्रष्टाचार नियन्त्रण, राजश्व सङ्कलन, अपराध अनुसन्धान तथा सूचना प्रविधिको प्रयोगलगायतका काममा नेपाल प्रहरी अब्बल रहेको दाबी गर्दै उनले अपराध नियन्त्रणका लागि सूचना दिई प्रहरीलाई सहयोग गर्न आग्रह गरे ।

कार्यक्रममा प्रहरी सम्बन्धी जानकारीका साथै समुदाय–प्रहरी साझेदारी कार्यक्रमका बारेमा प्रस्तुतिकरण गरिएको थियो । कार्यक्रममा लागूऔषध प्रयोग तथा यसबाट पर्नसक्ने असरबारेको ‘नसोचेको जिन्दगी’ नामक लघु वृत्तचित्र र साइवर क्राइमबारे सचेतनामूलक श्रव्यदृष्यसमेत प्रदर्शन गरिएको थियो ।