राजनीति

मन्त्री मगरको निर्देशनमा २० काँग्रेस कार्यकर्ता घाईते भएको भन्दै कडा कारबाहीको माग

काठमाण्डौ । नेपाली काँग्रेसले नेपाली काँग्रेसका कार्यकर्तामाथी भएको नेकपाको आक्रमणको तीब्र बिरोध जनाएको छ । कञ्चनपुरको पुर्नवास नगरपालिका वडा नं. १० को डोकेबजारमा शान्तिपूर्ण रुपमा विरोध गरेका नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई खानेपानी मन्त्री विना मगरको निर्देशनमा नेकपाका कार्यकर्ताहरुले मंगलबार असार १० गते आक्रमण गरी नेपाली कांग्रेसका २० जना कार्यकर्ताहरुलाई घाइते बनाएको दाबी गरेको छ।

उक्त घटनामा नेपाली कांग्रेस कञ्चनपुर क्षेत्र नं. १ का क्षेत्रीय सभापति गोपीप्रसाद उपाध्याय, बेलौरी नगरका नगर सचिव विक्रम चन्द, महाधिवेशन प्रतिनिधि हरेन्द्र विष्ट र नगर प्रमुखका उम्मेदवार तोयप्रसाद शर्मा, पुर्नवास नगरपालिका वडा नं. २ का सभापति चन्द्रमणि गैर, नेपाल तरुण दलका कृष्णबहादुर चन्द लगायतका व्यक्तिहरु गम्भीर घाइते भएको काँग्रेसले जनाएको छ । घाईतेहरुमध्ये गोपीप्रसाद उपाध्याय र विक्रम चन्दलाई काठमाडौँ स्थित न्यूरो अस्पताल, बाँसबारीमा उपचारार्थ भर्ना गरिएको छ भने बाँकी रहेका घाइतेहरुको कैलाली स्थित अञ्चल अस्पतालमा उपचार भैरहेको जानकारी काँग्रेसले दिएको छ ।

काँग्रेस मुख्यसचिव कृष्णचन्द्र पौडेलले जारी गरेको विज्ञप्तीका अनुसार , शान्तिपूर्ण रुपमा विरोध गर्न पाउने नागरिकको नैसर्गिक अधिकारमाथि वहालवाला मन्त्रीले आफ्ना कार्यकर्ताको प्रयोग गरी सार्वजनिक स्थलमै अवांछित गतिविधि र उद्दण्डता प्रदर्शन गर्नुलाई नेपाली कांग्रेसले गम्भीर रुपमा लिएको छ । उनका अनुसार, यस्तो अमानवीय क्रियाकलापको नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ । आपराधिक घटनामा संलग्न व्यक्तिहरुको तत्काल खोजी गरी कडा भन्दा कडा कार्वाही गर्न, आम नागरिकमा शान्ति सुरक्षाको प्रत्याभूत गर्नुका साथै घाइतेहरुको सम्पूर्ण उपचारको व्यवस्था गर्न नेपाली कांग्रेस सरकारसँग माग गर्दछ ।