राजनीति

७७ वटै जिल्लाको जनजागरणबारे केन्द्रीय प्रतिनिधिसँग काङ्ग्रेसको अन्तरकृया

काठमाण्डौ । नेपाली काङ्ग्रेसले ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’ को पहिलो चरणमा खटिएका ७७ वटै जिल्लाका केन्द्रीय प्रतिनिधिसँग छलफल एवं अन्तरकृया शुरु गरेको छ ।

अन्तक्र्रियाको शुरुआतका क्रममा पार्टी सभापति शेरबहादुर देउवाले पहिलो चरणमा जिल्लाबाट प्राप्त अनुभव एवं सुझावका आधारमा दोस्रो चरणको अभियान शुरु गरिने बताए । पार्टी महामन्त्री पूर्णबहादुर खड्काले निश्चित योजना र कार्यदिशासहित ७७ वटै जिल्लामा खटाइएका केन्द्रीय प्रतिनिधिले अअन्तरकृयामा लिखित प्रतिवेदन बुझाएर छलफल गरिने जानकारी दिए ।

अन्तक्र्रियाबाट आएको निष्कर्ष यही असार २२ गतेदेखि शुरु हुने केन्द्रीय कार्य समितिको बैठकमा राखिने उनले सुनाए । बिहीबारसम्म चल्ने कार्यक्रममा अभियानमा खटिएका केन्द्रीय प्रतिनिधिले आफूले तयार गरेको प्रतिवेदन र अनुभवका बारेमा केन्द्रीय नेतृत्वसँग छलफल गर्ने कार्यतालिका छ ।

जागरण अभियानको पहिलो चरण गत वैशाख २५ मा शुरु भई जेठ २५ गते सम्पन्न भएको थियो । अभियानको एक महीनामा सबै जिल्ला, क्षेत्र, गाउँ–नगर र वडास्तरमा दुई हजारभन्दा बढी बैठक, भेला, आन्तरिकसभा, खुलासभा, ¥याली, विचार–बहसलगायत कार्यक्रम गरिएको थियो ।

अभियानको दोस्रो चरण बिपी जयन्तीका दिन आगामी भदौ २४ गते प्रारम्भ भई असोज ७ गतेसम्म चल्नेछ । तेस्रो चरण आगामी पुस ७ गतेदेखि पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका दिनमा समापन गरिने जनाइएको छ । दुईदिने अन्तरकृयामा ७७ वटै जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिका साथै पार्टीका वर्तमान एवं पूर्वकेन्द्रीय पदाधिकारीको सहभागिता छ ।