गण्डकी प्रदेश

बागलुङमा घरवासको सङ्ख्यामा वृद्धि हुँदै

गलकोट । पछिल्लो समय बागलुङमा घरवास (होमस्टे) को सङ्ख्या बढ्दै गएको छ । विसं २०६८ मा जिल्लामै पहिलोपटक बागलुङ नगरपालिका–१० भकुण्डेमा अतिथि सत्कार सामुदायिक घरवासको शुरुआतसँगै जिल्लामा घरवास सञ्चालनमा ल्याउने क्रम शुरु भएको थियो ।

बागलुङ जिल्लामा अहिले सामुदायिक र व्यक्तिगत गरी झण्डै ४० घरवास रहेका छन् । विशेषगरी पर्यटकीय क्षेत्रमा घरवासहरु फस्टाएको पाइन्छ । घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई घरवासले प्रदान गर्ने आतिथ्यता, स्थानीय खानाको परिकार, आरामदायी आवास, कला संस्कृति तथा वेशभूषाले आकर्षण गर्दै आएको जिल्लाकै पहिलो घरवास अतिथि सत्कार सामुदायिक होमस्टेका सञ्चालक खिमबहादुर थापाले बताए ।

गाउँमा सञ्चालित घरवासले पर्यटन विकासमा समेत ठूलो टेवा पु¥याएको बागलुङ पर्यटन विकास समितिका अध्यक्ष राजु खड्काले बताए । “गाउँ–गाउँमा सञ्चालनमा आएका घरवासका कारण आन्तरिक पर्यटकहरु बढेको पाइएको छ”, खड्काले भने, ‘पर्यटकीय स्थलहरुको नजीकै रहेको गाउँमा घरवासको सङ्ख्यामा वृद्धि भएको पाइयो ।”

आन्तरिक पर्यटक फुर्सदको समयमा पर्यटकीय तथा धार्मिकस्थल घुम्ने, घरवासमा बस्ने प्रचलन दिनानुदिन बढ्दै गएपछि रु ३२ लाख खर्चेर पर्यटकीयस्थल अर्नाकोटमा व्यक्तिगतरूपमा ‘अर्नाकोट घरवास’ सञ्चालनमा ल्याएको घरवासका सञ्चालक टेकबहादुर कुँवरले बताए । “अर्नाकोट र माइली बराह घुम्न आउने पर्यटकहरुले खान–बस्न नपाएको गुनासो सुनेपछि घरवास सञ्चालनमा ल्याएको छु”, कुँवरले भने ।

बागलुङ जिल्लामा ३० भन्दा बढी सामुदायिक घरवास तथा एक दर्जनभन्दा बढी व्यक्तिगत घरवास सञ्चालनमा रहेका छन् । जिल्लामा सञ्चालित सामुदायिक घरवासमध्ये आर्थिक वर्ष २०७५÷०७६ मा २८ घरबासले डिभिजन वन कार्यालय बागलुङमार्फत गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट रु १० लाखका दरले अनुदानसमेत प्राप्त गरेको डिभिजन वन कार्यालयका प्रमुख रोमराज लामिछानेले बताए।

जिल्लाका १० पालिकामध्ये काठेखोला गाउँपालिका सबैभन्दा बढी घरवास भएको पालिकाका हो । यस गाउँपालिकामा आठ वटा सामुदायिक तथा एक व्यक्तिगत घरवास सञ्चालनमा आएको गाउँपालिका अध्यक्ष अम्मरबहादुर थापाले बताए। प्रदेश सरकारले अनुदानमा उपलब्ध गराएको प्रतिघरवास रु १० लाखले घरवास सञ्चालनका लागि पूर्वाधार निर्माण गर्दा पर्यटकहरुलाई थप आकर्षण गर्नसक्ने पर्यटन व्यवसायीहरु बताउँछन् ।

जिल्लाको पर्यटकीयस्थल ढोरपाटन, भकुण्डे, अर्नाकोट, पाण्डवखानी, काठेखोला, ताराखोला, जैमिनीलगायतका स्थानमा घरवास सञ्चालनमा छन् । गाउँ–गाउँमा रहेका कला संस्कृति तथा स्थानीय उत्पादनको समेत घरवासका कारण प्रवद्र्धन भएको ढोरपाटन सामुदायिक घरवासका सञ्चालक रामबहादुर घर्ती मगरले बताए । सुविधा सम्पन्न होटल सञ्चालन गर्न नसकिने पर्यटकीयस्थलमा थोरै लागतमा घरवास सञ्चालन गर्न सकिने भएकाले यसको सङ्ख्या वृद्धि हुँदै गएको हो ।