प्रदेश 2

बलात्कार आरोपितलाई छ वर्ष कैद

सप्तरी । बालिका बलात्कार गरेको आरोपमा सप्तरीको बोदे बर्साइन नगरपालिका–७ मानराजाका १८ वर्षीय घुरनकुमार यादवलाई सप्तरी जिल्ला अदालतले हिजो छ वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश नन्दकिशोरप्रसाद यादवको इजलासले कारागारमा थुनामा रहेका आरोपितलाई छ वर्ष कैद सजायका साथै रु ५० हजार क्षतिपूर्ति भराउने अन्तिम फैसला गरेको हो । जिल्ला अदालतको आदेशमा आरोपित २०७५ वैशाख ७ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।

पीडितकै घरकोठामा २०७४ चैत ९ गते बलात्कार गरेको भन्दै पीडितले भोलिपल्टै इलाका प्रहरी कार्यालय कल्याणपुरमा उजुरी दिएका थिए । प्रहरीले २०७४ चैत १० गते नै आरोपितलाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाएको थियो ।