पु.समाचार

लागुऔषध दुव्यर्सनी ‘समृद्ध नेपाल, सुखी नेपाली’को बाधक- गृहमन्त्री थापा

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले लागुऔषध दुव्यर्सनी ‘समृद्ध नेपाल, सुखी नेपाली’को बाधक बन्न पुगेको बताएका छन् । समृद्ध राष्ट्र निर्माणका लागि लागुऔषधरहित स्वस्थ्य जीवन भन्ने मूल नाराका साथ गृहमन्त्रालयले आज यहाँ आयोजना गरेको ‘लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस’का अवसरमा उनले स्वस्थ, सभ्य र अपराधमुक्त समाज निर्माणका लागि लागुऔषध दुव्यर्सनलाई रोक्नुपर्ने बताए ।

“शान्ति सुरक्षा र अपराधको चुनौतीको रूपमा लागुऔषध रहेको छ, यसलाई नियन्त्रण गर्न सरकारी र गैरसरकारी संस्थाको उत्तिकै दायित्व छ”, उनले भने। लागुऔषध दुव्यर्सनी रोकथामका लागि तीनै तहको सरकारले नीति बनाएर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।

गृहमन्त्री थापाले लागुऔषध दुव्यर्सनी हुन नदिन र प्रयोगकर्तालाई उपयुक्त उपचारको वातावरण मिलाउन गृहमन्त्रालयले सबै पक्षसँग छलफल गरिरहेको उल्लेख गरे । लागुऔषध समस्याको समाधानका लागि लागुऔषध नीति, ऐन कार्यान्वयनका लागि नेपाल प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत काम गरिरहेको उनको भनाइ थियो । लागुऔषध दुव्यर्सनीमा युवापुस्ता बढी लागेको भन्दै शैक्षिक संस्थामा जागरुकता बढाउन मन्त्रालयले काम गरिरहेको उल्लेख गरे ।

गृहमन्त्रालयका सचिव प्रेमकुमार राईले नेपालमा लागुऔषध दुव्र्यसनीको सङ्ख्या वर्षेनी बढ्दै गएको बताउँदै लागुऔषध दुव्यर्सनीलाई नियन्त्रण गर्न सप्ताहव्यापी अभियानले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

“पछिल्ला सर्वेक्षणले नेपालमा वर्षेनी ११/३६ प्रतिशतले लागुऔषध प्रयोगकर्ताको सङ्ख्या वृद्धि हुनुका साथै कूल अपराधमा सात प्रतिशत लागुऔषधसँग सम्बन्धित रहेको छ, यसलाई रोकथाम गर्नु हामी सबैको दायित्व हो”, उनले भने । हाल नेपालका डेढ लाख युवा लागुऔषधको कुलतमा फसेको भन्दै यसलाई नियन्त्रण गर्न अभियानले सहयोग पुग्ने उनको भनाइ छ । सचिव राईले ‘समृद्ध नेपाल, सुखी नेपाली’को आकांक्षा पूरा गर्न लागुऔषध दुव्यर्सनी समस्याको समाधान गर्नु जरुरी रहेको बताए ।

गृहमन्त्रालयका सहसचिव एवं मुख्य लागुऔषध नियन्त्रण अधिकारी नारायणप्रसाद शर्मा दुवाडीले नेपालमा प्रत्येक वर्ष लागुऔषध प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएको बताउँदै यसलाई रोकथाम गर्न सचेतनामूलक कार्यक्रम व्यापकरूपमा अगाडि बढाउनुपर्ने बताए।

उनले लागुऔषध नियन्त्रण गर्न विगतमा भएका कमी कमजोरीलाई सच्याएर सरकारले १० वर्षे कार्ययोजना बनाएर अगाडि बढाउनुपर्ने बताए । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको क्षमता अभिवृद्धि गर्नुुपर्ने उनको भनाइ थियो । सहसचिव शर्माले लागुऔषध नियन्त्रणका लागि विभिन्न गैरसरकारी संस्थाले ल्याउने कार्यक्रममा नेपालको प्राथमिकता केन्द्रित हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा लागुऔषध दुरुपयोगसम्बन्धी नाटक, कविता, वतृत्वकला प्रतियोगिता सम्पन्न गर्नुका साथै गृहमन्त्रालयले प्रत्येक वर्ष प्रकाशन गर्दै आएको ‘सुरक्षित जीवन’ स्मारिकाको विमोचन गरिएको थियो । अभियानका अवसरमा भृकुटीमण्डप, भद्रकाली, शहीदगेट, एनएसी, रत्नापार्क हुँदै राष्ट्रिय सभागृहसम्म पदयात्रा गरिएको थियो । संयुक्त राष्ट्रसङ्घ महासभाबाट पारित भई विश्वभर ‘लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस’ मनाउन थालिएअनुसार नेपालमा पनि जुन २६ मा उक्त दिवस मनाउँदै आइएको हो ।