समाचार

रुकुममा डोजरले किच्यो मोहनलाई, डोजर मेयरको भएको दाबी

रुकुम। रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका मेयर बिशाल शर्माको डोजरले एक बालकलाई किच्दा उनको जीवन नै आधा भएको छ । चौरजहारी नगरपालिका वडा नं ६ पुरानोपानीका १२ बर्षिय मोहन रोकालाई किचेको हो । जुम्लीपोखरीदेखी खाडल जोडने सडक खन्ने क्रममा डोजरले किचेपछि अहिले उनका दुवै खुटटा काटेर उपचार भईरहेको छ ।

घटना गत जेष्ठ ३० गते घटेपनी गुपचुप राखिएको भन्दै सामाजिक अभियान्ता र युवाहरुले विरोध जनाएका छन । उता मेयर शर्माले भने क्षतिपुर्ति र उपचार गर्ने सर्तमा कुरा मिलेको बताएपनि खलासीले डोजर चलाएको कारण घटना घटेकोले कारबाही समेत हुनुपर्ने स्थानीय र उनका अभिभावकहरुले माग गरेका छन । डोजर आफनो रहेपनी ठेक्का अर्काको रहेकोले सम्पुर्ण खर्च ठेकेदारले नै व्यर्होने भएपछि कुरा मिलेको उनले जिकिर गरे ।

तर प्रहरी मुचुल्का तयार नगरेको र खलासीलाई डोजर चलाउन दिएको बिषयमा भने कुनै कुरा नभएको स्थानीयले आरोप लगाएका छन । सार्वजनिक पदमा रहेका मान्छेका नजिककाले घटना घटाउदा प्रहरी मुचुल्का समेत तयार नगर्ने र खलासीलाई कार्बाही नहुने नहुने भन्दै स्थानीय डिल्ली शर्माले आक्रोस व्यक्त गरे । रोकाको अहिले दुवै खुटटा काटेर ललितपुर स्थित आन्नद बन अस्पतालमा उपचार भईरहेको भएपनि घटनाको न प्रहरी रिर्पोट नै छ न जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको छ । यस बिषयमा ईलाका प्रहरी कार्यालय चौरजहारीले आफुहरुलाई जानकारी नै नभएको बताएको छ ।

मेयर शर्माले भने मुचुल्का भन्दा बालकको ज्यान बचाउन तर्फ बडी जोड दिएको दाबी गरे तर नगरका स्थानीय ठेक्का पटटामा मेयर शर्माले हालीमुहाली गरेकाले यस्ता घटनालाई सामान्य रुपमै मिलाउने गरेका छन् । उनी पुर्व माओवादीबाट निर्वाचित मेयर हुन् । रुकुमका सामाजिक अभियान्ता र विद्यार्थी नेताहरुले उक्त घटनावारे विरोध जनाएपछि मात्र घटना सार्वजनिक भएको हो ।