प्रदेश 1

प्रधानमन्त्रीको गृहजिल्लाका पाँच स्थानीय तहको बजेट सार्वजनिक

बिर्तामोड । झापाका १५ स्थानीय तहमध्ये चार नगरपालिका र एक गाउँपालिकाले आर्थिक वर्ष २०७६÷७७ का लागि नीति तथा कार्यक्रमसँगै बजेट सार्वजनिक गरेका छन् ।

झापाको भद्रपुर नगरपालिकाले आर्थिक वर्ष ०७६/७७ का लागि रु ७१ करोड ४१ लाख ९५ हजारको बजेट प्रस्ताव गरेको छ । सो बजेट आज सम्पन्न नगरसभामा उपप्रमुख चन्द्रा श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो । प्रस्तावित बजेटअनुसार रु ११ करोड ९७ लाख २२ हजार चालू तथा प्रशासनिक खर्चमा छुट्याइएको छ भने बाँकी पूँजीगत खर्च रहनेछ ।

गत आवको तुलनामा आगामी वर्षका लागि रु ११ करोड बढीको बजेट प्रस्ताव गरिएको छ । त्यसैगरी, गौरादह नगरपालिकाका उपप्रमुख गीता भेटवालले आगामी आव २०७६/७७ का लागि रु ८५ करोड ४२ लाख ७२ हजारको बजेट प्रस्ताव गरेका छन् ।

अर्जुनधारा नगरपालिकाका उपप्रमुख कमला आचार्यले पनि आजै रु एक अर्ब ५ करोड ९० लाख ३९ हजारको बजेट प्रस्तुत गरेका थिए । शिवसताक्षी नगरपालिकाका उपप्रमुख भोजकुमारी नेपालले सोही आवका लागि रु ८७ करोड ५४ लाख पाँच हजारको बजेट प्रस्तुत गरिएको बताए । यसैगरी, गौरीगञ्ज गाउँपालिकाले रु ३४ करोड ९३ लाख ५३ हजारको बजेट प्रस्तुत गरेको छ ।