राजनीति

गुठी व्यवस्थापनको जिम्मा प्रदेश वा स्थानीय सरकारलाई दिनुपर्छ: अध्यक्ष बिजुक्छे

भक्तपुर । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले गुठी जग्गाको नियन्त्रण एवं व्यवस्थापन गर्न उपत्यकाका गुठीको जिम्मेवारी प्रदेश वा स्थानीय सरकारहरूलाई दिनुपर्ने बताएका छन् ।

भक्तपुर नगरपालिकाको पाँचौँ नगरसभाको आज उद्घाटन गर्दै उनले नेपालका गुठी जग्गा लथालिङ्ग अवस्थामा रहेकाले यसको व्यवस्थापन जरुरी रहेको बताए । जनप्रतिनिधिले जनताको मतलाई अप्ठ्यारो हुने गरी काम गर्न नहुनेमा जोड दिँदै उनले किसानहरूबीच समानता ल्याउन किसानलाई मोहियानी हक दिनुपर्ने उल्लेख गरे ।

बिजुक्छेले टोल–टोलमा भएका सांस्कृतिक सम्पदाको पुनर्निर्माणको जिम्मा पनि स्थानीय तहलाई नै दिनुपर्नेमा जोड दिँदै नगरपालिकाभित्र खाद्य गुणस्तर जाँच गर्ने प्रविधि, कर्मचारीलाई समयसापेक्ष तालीम, सडकपेटी व्यवस्थापन, सफा पशु बधशाला र आदर निकेतनका लागि आवश्यक ऐन बनाउनुपर्ने औँल्याए ।

कार्यक्रमका सांसद प्रेम सुवालले भक्तपुरको नगरकोट–बागिश्वरीलाई जलाधार संरक्षण क्षेत्र घोषणा गर्नुपर्ने बताए । नगरप्रमुख सुनिल प्रजापतिले नगरपालिकाको आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सङ्घीयताको अर्थ प्रशासनिक, वित्तीय स्वायत्तता र विकेन्द्रीकरण भएको बताउँदै सङ्घ, प्रदेश र स्थानीय तहबीच एकल तथा साझा अधिकार क्षेत्रको प्रयोग, प्राकृतिक स्रोतसाधनको उपयोग र बाँडफाँटमा समन्वय हुन आवश्यक भएकामा जोड दिए ।

उपप्रमुख रजनी जोशीले समाजलाई व्यवस्थित ढङ्गले अगाडि बढाउन डाक्टर र इञ्जिनीयरबाहेक भूगोल, इतिहास, कला–संस्कृति र राजनीतिशास्त्रलगायतका विषयको अध्ययन आवश्यक भएकाले नगरपालिकाले यी विषयका लागि छात्रवृत्तिको व्यवस्था गरेको बताए ।