प्रवास

काँग्रेस जनसम्पर्क समितिको प्रशिक्षण कार्यक्रम सम्पन्न

कोपनहेगन । नेपाली काङ्ग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना एवं नेपाली जनसम्पर्क समिति, डेनमार्कको संयोजनमा डेनमार्कको कोपेनहेगनमा भएको जनसम्पर्क समितिको तीनदिने विश्वस्तरीय प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ ।

प्रशिक्षणको अन्तिम दिन विभिन्न विषयका १० कार्यपत्र प्रस्तुत गरिएको प्रतिष्ठानका सचिव मुक्ति आचार्यले जानकारी दिए । प्रशिक्षणमा काङ्ग्रेस नेता डा रामशरण महतले ‘नवीन विश्व अर्थ व्यवस्थामा लोकतान्त्रिक समाजवाद र नेपाल’ विषयमा, नेता गोविन्द भट्टराईले ‘नेपाली लोकतन्त्रमा वामपन्थी (कम्युनिष्ट) सत्ता’ विषयमा, रामजी दाहालले ‘राजनीतिक सञ्चार’ विषयमा तथा नानुमैयाँ बाँस्तोलाले ‘महिला सशक्तिकरणमा नेपाली काङ्ग्रेस’ विषयमा प्रशिक्षण दिएक ाथिए ।

यस्तै किरणराज शर्मा पौडेलले ‘विदेशमा बस्ने नेपालीः लोकतान्त्रिक आन्दोलन र राष्ट्रको विकासमा योगदान’ विषयमा, राजु नेपालले ‘नेपाली काङ्ग्रेसको आर्थिक नीतिः राष्ट्रिय बजेट र विकासको प्रश्न’ विषयमा, नेता डा मिनेन्द्र रिजालले ‘नेपाली काङ्ग्रेसको विधान र नेपाली जनसम्पर्क समिति’ विषयमा र काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ‘नेपालको समृद्धिमा नेपाली डायस्पोराको भूमिका’ विषयमा प्रस्तुति दिनुभएको सचिव आचार्यले जानकारी दिए ।

नेपाल जनसम्पर्क समितिको तर्फबाट ‘नेपाली जनसम्पर्क समितिः समन्वय, सङ्गठन र नेपाली काङ्ग्रेसको भूमिका’ विषयमा र पुरुषोत्तम दाहालले ‘महासमितिको राजनीतिक प्रस्तावः जानकारी र समिक्षा’ विषयमा प्रस्तुति दिएका थिए । प्रशिक्षणको दोस्रोदिन विभिन्न विषयका कार्यपत्र प्रस्तुत गरिएका थिए । प्रशिक्षणपश्चात् प्रवक्ता शर्माको सभापतित्वमा भएको समापन कार्यक्रममा काङ्ग्रेस उप–सभापति विमलेन्द्र निधि, महामन्त्री डा शशाङ्क कोइराला, विभिन्न मुलुकस्थित जनसम्पर्क समितिका सभापतिलगायतले आ–आफ्नो धारणा राखेका थिए ।