उर्जा

विद्युत् चोरी गर्ने व्यक्तिलाई २९ लाख जरिवाना

हेटौँडा । नेपाल विद्युत् प्राधिकरण विद्युत् वितरण केन्द्रको कार्यालय टाँडीले चालू आर्थिक वर्षको एक वर्षमा अवैध रुपमा विद्युत् चोरी एवं चुहावट गर्ने २३४ व्यक्तिलाई कारबाही गरी रु २८ लाख ८९ हजार ८६३ जरिवाना गरेको छ । कारबाहीमा परेका व्यक्तिले एक लाख ५१ हजार ५८७ युनिट विद्युत् चुहावटसमेत गरेको थियो ।

कार्यालयले बन्द भएको, बिग्रेको र मिटरमा कैफियत देखिएका ७८८ ग्राहकको विद्युत् मिटर परिवर्तन गरी त्यस अवस्थामा बक्यौता रहेको रु २० लाख ३६ हजार राजश्वसमेत सङ्कलन गरेको कार्यालय प्रमुख चुटुनकुमार श्रीवास्तवले बताए ।

कार्यालयका अनुसार लामो समयदेखि बक्यौता रहेका ६०५ ग्राहकको लाइन कट्टा गरी रु एक करोड ६६ लाख ३२ हजार ७०० राजश्व सङ्कलन भएको छ । त्यस्तै, कालोसूचीमा परेका १३ ग्राहकबाट रु छ लाख ३१ हजार राजश्वसमेत सङ्कलन भएको छ ।

कार्यालयबाट प्राप्त विवरणअनुसार कारबाहीमा परेका ५१५ ग्राहकले बक्यौता तिर्दा रु दुई करोड चार लाख ८८ हजारसमेत राजश्व सङ्कलन भएको छ । सो वितरण केन्द्रअन्तर्गत ५६ हजार ९५७ विद्युत् मिटर जडान गर्ने ग्राहक रहेको सो कार्यालयले मासिक रु छ करोड विद्युत् शुल्कबापत राजश्व सङ्कलन गर्ने गरेको छ ।

अवैध रुपमा विद्युत् चोरी तथा हुकिङ हुन नदिनेतर्फ सो कार्यालयले अनुगमन तीब्र पारेको प्रमुख श्रीवास्तवको भनाइ छ । कानूनी रुपमा विद्युत् चोरीको कार्य बन्द गरी त्यहाँका आम नागरिक विद्युत् मिटर जडान गर्दै आएका छन् ।

आर्थिक वर्ष २०७५÷७६ मा चार हजार ५०० घर परिवारले विद्युत् मिटर जडान गरेको बताइएको छ । यसैबीच सो केन्द्रले आर्थिक रुपमा गरिब, विपन्न तथा सुकुम्वासीतर्फका १७२ जनालाई निःशुल्क विद्युत् मिटर वितरण गरेको छ । नेपाल सरकारको उज्यालो कार्यक्रमअन्तर्गत सो विद्युत् मिटर निःशुल्क वितरण गरिएको हो ।