खेलकुद

मध्यपुर युथ एशोसिएशनको आयोजनामा फुटबल लिग शुरु

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाको सहयोगमा मध्यपुर युथ एशोसिएशनले आयोजना गरेको ‘एमवाईए विकेण्ड ग्रासरुट फुटबल लिग’ आईतबारदेखि सानोठिमीस्थित खेल मैदानमा शुरु भएको छ ।

सानैदेखि फुटबलप्रति आकर्षित गर्न छ वर्षदेखि १३ वर्ष उमेरसम्मका विद्यार्थीका लागि प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा जिल्लाका १२ विद्यालयका २४ टोलीको सहभागिता रहेको एशोसिएशनका अध्यक्ष उपेन्द्रमान सिंहले बताए । प्रतियोगीताअन्तर्गत आज १० खेल सम्पन्न भएका छन् । छ महीनासम्म प्रत्येक साता शनिबार मात्रै खेल सञ्चालन हुनेछ । “बालबालिकालाई खेलप्रति आकर्षित गर्न तथा निरोगी र अनुशासित बनाउन यसबाट सहयोग पुग्नेछ”, फुटबलका पूर्वराष्ट्रिय खेलाडी सिंहले भने ।

प्रतियोगिताको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) अध्यक्ष कर्माछिरिङ शेर्पा र मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । ‘शिक्षाका लागि फुटबल खेल’ नाराका साथ एन्फाले ४५ जिल्लाका एक हजार ८० विद्यालयमा प्रतियोगिता सञ्चालन गरेको हो ।