लुम्बिनी

वर्षाले सयौँ घर डुबानमा, सतर्कता अपनाउन गरियो अपील

राँझा । शनिबार रातिदेखि परेको अविरल वर्षापछि आएको बाढीले बाँकेको नरैनापुर गाउँपालिकाका एक दर्जन बढी घर भत्किएका छन् भने सयौँ घर डुबानमा परेका छन् ।

दक्षिणतर्फ सीमामा भारतले बाँधजस्तो सडक बनाएका कारण पानीको सहज निकास नहुँदा सीमावर्ती अधिकांश गाउँ डुबानमा परेका गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताए । बनियाँ गाउँ, महतनियाँ, मझेरटी, मियाँपुर्वा, घोरदौरिया, महादेवनगर, कोटिहा, बहावपुर्वा, रोशनपुर्वालगायतका गाउँका अधिकांश घर डुबानमा परेका छन् ।

सयभन्दा बढी घर डुबेका र झण्डै एक दर्जन घर भत्किएका अध्यक्ष शाहले जानकारी दिए । निर्माणाधीन हुलाकी राजमार्गमा पनि पानीले क्षति पु¥याएको छ । पुल तथा कल्भर्ट बनाइएका ठाउँमा पानीले बाटोको दुवैतिर कटान गरेको उनले बताए । वडा नं १ कट्कुइँयास्थित वडा कार्यालयमा समेत पानी पसेको प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताए ।

घरहरुमा पानी पसेपछि गाउँपालिकाका अध्यक्ष शाह नेतृत्वको टोली उद्धारमा खटिएको छ । अविरल वर्षापछि खहरे खोलामा आएको बाढी र आकाशे पानी घरहरुमा पसेको इलाका प्रहरी कार्यालय भोजभगवानपुरका प्रमुख प्रहरी निरीक्षक विरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।

नेपालगञ्जमा १०० दशमलव दुई मिलिमिटर वर्षा भएको हावापानी फिल्ड कार्यालयका निमित्त फिल्ड इञ्चार्ज पहलबहादुर विश्वकर्माले जानकारी दिए । अविरल वर्षाले नेपालगञ्जको मुख्यबजार क्षेत्र घरवारीटोल, गणेशपुर क्षेत्र, बसपार्क लगायतका बजार क्षेत्र डुबानमा छन् । नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले डुबानबाट जनधनको क्षति नभएपनि जनजीवन प्रभावित भएको बताए ।

उनका अनुसार डुबान भएका स्थानमा पानीको बहाब खोल्न महानगरका कर्मचारी स्काभेटरसहित तैनाथ छन् । नेपालगञ्जलाई डुबानमुक्त बनाउन यो वर्ष अधिकांश सडक र नाली निर्माण गरिएपनि समस्या भने कायमै रहेको छ । गतवर्षको तुलनामा यो वर्ष कम डुबान हुने प्रवक्ता रिजालको दाबी छ ।

सतर्कता अपनाउन अपिल

लगातारको वर्षाले बाँकेमा सतर्कता तह पार गरेको छ । राष्ट्रिय आपतकालीन उद्धार केन्द्रले आज एक सूचना जारी गर्दै सतर्कता अपनाउन अपिल गरेको छ । चुरेबाट शुरु भई बाँके जिल्ला भएर बहने डुडुवा, मानखोला, झिंझरी लगायतका स–साना सबै खोलानाला आसपास सतर्क रहन सुझाव दिइएको छ । राष्ट्रिय आपत्तकालीन उद्धार केन्द्रले उपमहानगरका होचा स्थानहरुमा पनि डुबान हुनसक्नेतर्फ सचेत बनाएको छ ।