खेलकुद

सरकारले खेल क्षेत्रलाई प्राथमिकतामा राखे मात्रै समृद्धि सम्भवः अध्यक्ष दाहाल

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले खेल क्षेत्रको विकासले मात्रै मुलुकमा समृद्धि सम्भव भएको बताएका छन् ।

भरतपुरमा जारी पाँचौँ ‘हानामी चितवन च्याम्पियनशिप’को आईतबार समापन गर्दै पूर्वप्रधानमन्त्री दाहालले अन्य देशको विकास खेलका माध्यमले भएको उल्लेख गरे । उनले नेपालमा पनि खेल क्षेत्रलाई सबैले प्राथमिकतामा राख्नुपर्ने बताए । खेल क्षेत्र राष्ट्रिय एकता, राष्ट्रिय अनुशासन, सभ्यता र पहिचानको आधार रहेकाले खेलकै कारण विश्वमा पहिचान रहने तथा आर्थिक रुपमा समृद्धि हाँसिल गर्न सहज हुने अध्यक्ष दाहालको भनाइ थियो । “निजी क्षेत्रबाट सञ्चालन हुने प्रतियोगितालाई राज्यले सहयोग गर्छ”, उनले भने ।

यसैबीच भरतपुरमा जारी पाँचौँ हानामी चितवन च्याम्पियनशिपको उपाधि अभिशेक चर्च रजहरले जितेका छन् । रजहरले जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरलाई २–१ गोलले हराउँदै उपाधिसँगै रु तीन लाख पुरस्कार जितेको छ । उप–विजेता शिक्षालयले रु एक लाख ५० हजार तथा तृतीय भएको जु फुटबल क्लब जुगेडीले रु ५० हजार पुरस्कार जितेको छ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी अभिषेक चर्चका अजित गुरुङ घोषित भए । उनले रु २० हजार पुरस्कार प्राप्त गरे । अभिषेक चर्चकै एनिक सर्वाधिक गोलकर्ता भए । उनले प्रतियोगिताभर ६ गोल गरे । जुनियर प्रहरी अधिकृत शिक्षालयका सञ्जित श्रेष्ठ उत्कृष्ट गोल रक्षक, अभिषेक चर्चका मानबहादुर तामाङ उत्कृष्ट डिफेन्डर तथा जुनियर प्रहरी अधिकृत शिक्षालयका प्रताप गुरुङ उत्कृष्ट मिडफिल्डर घोषित भए । उनीहरुले जनही रु १० हजार पुरस्कार प्राप्त गरे । गत जेठ २४ गतेदेखि शुरु भएको प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो ।