समाचार

मुद्धा मिलाईदिन्छु भन्दै ७ हजार घुष लिने कट्वाल अख्तियारको फन्दामा

काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी चौकी झोक्राहा सुनसरीमा कार्यरत प्रहरी सहायक निरीक्षक पदमबहादुर कटवालले सेवाग्राहीसँग घूस लिएको अभियोगमा पक्राउ गरेको छ ।

वन मन्त्रालयबाट पक्राउ पुर्जी आएकाले त्यसलाई मिलाइदिन्छु भनी सेवाग्राहीसँग रु सात हजार घूस माग गरेको भन्ने सूचनाका आधारमा आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले आज पक्राउ गरेको हो । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार सहायक निरीक्षक कटुवाललाई कार्यालय नजीकैबाट पक्राउ गरिएको हो ।

यस्तै आयोगले जग्गा हाल साबिक गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग रु एक लाख ५० हजार घूस मागेको अभियोगमा नापी कार्यालय साँखुका नापी सर्वेक्षक श्यामकृष्ण न्यौपाने र लेखापढी व्यवसायी विष्णु केसीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आरोपीद्वयलाई बिगो असुल गरी कैद सजायको समेत माग गरी विशेष अदातमा मुद्दा दायर गरिएको हो ।

त्यस्तै आयोगले महोत्तरीको एकडारा गाउँपालिका–४ का निर्वाचित वडा सदस्य रामचन्द्र राय यादवविरुद्ध पनि आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ । गाउँपालिकाको बजेटबाट निर्माण हुने धर्मशालाको रकम निकासा गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग रु ३६ हजार घूस लिएको अभियोग यादवमाथि लागेको छ । आयोगले बिगोबमोजिम जरिवाना र कैद सजायको समेत माग गरेको छ ।