पर्यटन/संस्कृति

इच्छाकामना मन्दिरको पुनःनिर्माण शुरु

चितवन । चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिका–५ मा रहेको ऐतिहासिक धार्मिकस्थल इच्छाकामना मन्दिरको पुनःनिर्माण कार्य शुरु भएको छ । सो मन्दिरको शनिबार प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले शिलान्यास गरे । मन्दिरको शिलान्यास गर्दै प्रमुख कोइरालाले धार्मिकस्थलको संरक्षणमा जुट्न सबैलाई आग्रह गरे । उनले मन्दिर पुनःनिर्माणका लागि आफ्नोतर्फबाट आवश्यक पहल गर्ने आश्वासन दिए ।
जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले इच्छाकामना धार्मिक र पर्यटकीयस्थल रहेको थलो भएको बताए ।

गाउँपालिकाकी अध्यक्ष गीताकुमारी गुरुङले इच्छाकामनाको विकासविना समृद्ध चितवन बन्न नसक्ने भन्दै यहाँका धार्मिक तथा पर्यटकीयस्थलको विकासमा विशेष जोड दिनुपर्ने बताए । सबैको आस्थाको धरोहर इच्छाकामना मन्दिरको प्रचारप्रसार र विकासका लागि गाउँपालिका लागिपरेको उनले बताए । उद्योग वाणिज्य सङ्घ मुग्लिनका अध्यक्ष कल्याण गुभाजुले इच्छाकामनाको धार्मिक धरोहरलाई सबै मिलेर संरक्षण गर्नुपर्ने बताए ।

कार्यक्रममा मन्दिर संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराले मन्दिर पुनःनिर्माणका लागि रु ५० लाख प्रदेश सरकारबाट प्राप्त भएको बताए । उनका अनुसार काठ किन्न मात्र रु ३५ लाख लाग्ने छ । मन्दिर पुनःनिर्माणका लागि करीब रु तीन करोड लाग्ने बताउँदै उहाँले आवश्यक सहयोगका लागि पहल गरिदिन सबैलाई अनुरोध गरे ।

गोरखाको शहीद लखनगाउँपालिका–२ मा रहेको मनकामनामा माताको मन्दिरको आमनेसामने उत्तरमा पर्ने यस मन्दिरमा पूजाआजा गरे इच्छ्याएको पूरा हुने धार्मिक विश्वास छ । मनकामनामाईको सात दिदीबहिनी थिए । तीमध्ये एक बहिनी रहेको किंवदन्ती रहेको मन्दिरका पुजारी हर्कबहादुर गुरुङले बताए ।

यहाँ प्रत्येक वर्ष मङ्सिरको ठूलो एकादशीपछि पञ्चमी तिथिमा इच्छाकामनामा ठूलो मेला लाग्ने गर्दछ ।  मोटरबाटो खुलेपछि पछिल्लो समय मनकामना आएका दर्शनार्थी इच्छाकामना पनि आउने गरेको पुजारी हर्कबहादुर गुरुङले बताए । मन्दिर दर्शन गर्न आउने दर्शनार्थी तथा पर्यटकको आवागमनमा वृद्धि हुँदै आएको स्थानीय होटल व्यवसायी ज्ञानबहादुर गुरुङ बताउँछन् ।