कर्णाली प्रदेश

कृषि पकेट क्षेत्र सांसदकै निगरानीमा सञ्चालन हुन्छः मन्त्री केसी

कर्णली । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले कृषि पकेट क्षेत्र सांसदहरुकै निगरानीमा सञ्चालन गरिने बताएका छन् ।

मन्त्रालयअन्तर्गतका योजनाको अनुगमन तथा पशुपालन र कृषि पकेट क्षेत्रको सम्भाव्यता अध्ययनको क्रममा दैलेख पुगेका मन्त्री केसीले आगामी आवबाट कृषि पकेट क्षेत्र स्थापना गरी त्यसको प्रत्यक्ष निगरानी सांसदमार्फत गर्ने बताए । गरीब समुदायको जीवनस्तरमा सुधार गर्नका लागि मन्त्रालयले यहाँका सांसदहरुको प्रत्यक्ष निगरानी हुनेगरी ‘एक सांसद, एक कृषि पकेट क्षेत्र निर्माण गरेर काम शुरु गर्ने नीति प्रदेश सरकारले लिएको उहाँले प्रष्ट्याए ।

अनुगमनका क्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुण्यप्रसाद रेग्मीले सरकारले प्रभावकारी कार्यक्रम लागू गर्न किसानका बारीसम्म पुगेर अध्ययन र अवलोकन गर्ने काम थालेको बताए । अब हरेक कृषकको आम्दानी बढाउन र कर्णालीलाई अग्र्यानिक प्रदेश बनाउन स्थानीय सरकार र कृषक पनि जागरुक भएर लाग्नुपर्नेमा उनको जोड थियो ।

नारायण नगरपालिका–३ को पिउसेमा कृषि पकेट क्षेत्र र पशुपालनको राम्रो सम्भावना भएको बताउँदै प्रदेश सरकारले नीति निर्माण गरिदिन पूर्व जिविस सभापति टेकबहादुर खाँणले मन्त्रीसँग अनुरोध गरे। नारायण नगरपालिका–३ का अध्यक्ष चन्द्रप्रसाद उपाध्यायले यस वडामा यहाँका दलित समुदायसँग खेतीयोग्य जमीन कम भएकाले अहिले पनि कामको खोजीमा भारत जानुपर्ने बाध्यता कायमै रहेको बताए ।

कृषि पकेट क्षेत्रसँगै सामूहिक तरकारी खेती र पशुपालन व्यवसाय शुरु गर्न सके आर्थिक अवस्था सुधारमा सहयोग पुग्ने उहाँको भनाइ थियो । योजना अनुगमनका क्रममा कर्णाली प्रदेशका सांसद पद्मा खड्का, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका उपसचिव राजु केसी, भेटनेरीका मोहन गिरी र भिम बिष्टलगायतको सहभागिता रहेको थियो ।

मन्त्री केसी नेतृत्वको अनुगमन टोलीले बाख्रा फार्म, पातिकाल्नामा निर्माण भएको कुखुरा फार्म, पिउसेमा कृषि र पशुपालनको सम्भाव्यता अध्ययनसँगै कृषकको बारीमै पुगेर समस्याको बारेमा स्थलगत अध्ययनसमेत गरेको थियो ।