राजनीति

ओली सरकारले जग्गा जमिनमा चलखेल गर्न गुठी विधेयक ल्यायोः नेता सिंह

सिमरा । पूर्वउपप्रधानमन्त्री एवंम् काँग्रेस नेता प्रकाशमान सिंहले बर्तमान सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संबिधानको भावना र मर्म अनुसार शासन सञ्चालन गर्न नसकेको आरोप लगाएका छन् ।

सर्लाहीको एक श्रद्धाञ्जली सभामा भागलिन बाराको सिमरा बिमानस्थल आई पुगेका सिंहले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको संबोधन गर्दै उक्त कुरा बताएका हुन् । उनले सरकार चाहिने भन्दा नचाहिने क्षेत्र तर्फ हात हालेर बिवादित हुँदै गएको बताउँदै संघिय सरकारले संबिधानको मुल मर्म अनुसारको प्रदेश र स्थानीय तहको हक अधिकार माथी हस्तक्षेप गरेकोले प्रदेश र स्थानीय तहलाई काम गर्न असजिलो भएको बताए ।

एक अर्को प्रसंङ्गमा गुठीको मुल मर्म र भावना बिपरीत प्राधिकरण मार्फत जग्गा जमिनमा चलखेल गर्न गुठी विधेयक ल्याएर शिष्ट र सभ्य रुपमा सञ्चालित समाजलाई बिथोल्न लागेकोले नेपाली काँग्रेसले सडकदेखि सदन सम्म आवाज उठाई गुठी विधेयक फिर्ता र खारेजीको माग गरेको बताएका छन् ।

उनले संसार भरि नैं बिधिको शासनमा सरकार सँधै सत्ता पक्ष र संसद सँधै विपक्षमा हुने हुँदा विधि र प्रक्रिया अनुसर बोल्न खोज्दा संसदमा बन्देज लगाउनु आपत्तिजनक भएको बताए । सिमरा बिमानस्थलमा बारा, पर्सा, रौतहट र सर्लाहीका नेता तथा कार्यकर्ताले सिंहलाई स्वागत गरेका थिए ।