उर्जा

महशुल नतिर्ने ग्राहकको लाइन काटियो

दमौली । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले समयमा विद्युत् महशुल नबुझाउने ८५५ ग्राहकको लाइन काटेको छ । वितरण केन्द्रले चालू आर्थिक वर्ष २०७५/६६ को जेठ मसान्तसम्म महशुल बुझाउन अटेर गर्ने ग्राहकको लाइन काटेको हो ।

समयमा विद्युत् महशुल नबुझाउने ग्राहकको लाइन काटेर रु एक करोड ४१ लाख ३७ हजार ३५९ बक्यौता असुल गरिएको केन्द्रका प्रमुख शिवनारायण गोशलीले जानकारी दिए । उनका अनुसार लाइन काटिनेमध्ये ७३७ ले बक्यौता रकम बुझाएका र उनीहरुको लाइन पुनः जोडिएको छ ।

गोशलीले भने, “मिटर रिडिङ भएको ६०औँ दिनभन्दा बढी समयसम्म महशुल नतिर्ने ग्राहकको लाइन दैनिक रुपमा काटिएको छ । लाइन काटेर कारवाही गरिएका ग्राहकले धमाधम बक्यौता रकम बुझाउन थालेका छन् ।” केन्द्रले चालु आवको जेठ मसान्तसम्म अनाधिकृत रुपमा विद्युत् प्रयोग गर्ने १२१ ग्राहकलाई कारवाही गरेको छ । कारवाही स्वरुप रु छ लाख एक हजार ९८५ राजश्व सङ्कलन भएको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार मिटर वाईपास गर्ने, मिटरमा पूरा खपत हुन नदिने, मिटरमा अन्य वस्तु प्रयोग गर्ने र मिटरको सिल तोड्नेलाई कारवाही गरिएको हो । विद्युत् चुहावट नियन्त्रण कार्यअन्तर्गत बन्द भएका, बिग्रेका मिटर फेर्ने, मिटरको छड्के निरीक्षण गर्ने, मिटर रिसिलिङ गर्ने, ठूला ग्राहकको टिओडी मिटरको खपत युनिट डाउनलोड गरी डाटा एनलाइसिस गर्ने कार्य गरिएको छ भने जेठसम्म ३४१ बन्द तथा बिग्रेका मिटर, एक हजार १४९ ग्राहकको मिटर रिसिलिङ र एक हजार २०० ग्राहकको मिटर छड्के निरीक्षण गरिएको छ ।

केन्द्र प्रमुख गोशलीका अनुसार विद्युत् चुहावट नियन्त्रणमा कडाइ गरिएपछि विद्युत् चुहावट घटेको छ । ट्रान्सफर्मर थप्ने, ट्रान्सफर्मरको क्षमता बढाउने, तार अपग्रेड गर्ने, नयाँ लाइन विस्तार गर्ने, पुरानो नाङ्गो तारलाई नयाँ कालो तारले फेर्ने कार्यले विद्युत् चुहावट घटाउन सहज भएको उनले जानकारी दिए ।